images
images

कोरोना संक्रमण र रोकथामकालागि ट्राफिक प्रहरीको ‘मास्क प्रयोग गरौं’ अभियान

  • ६ माघ २०७८, बिहीबार ०९:०१

काठमाडौं । मुलुकभर कोरोना संक्रमण तिव्ररुपमा फैलिरहेका बेला ट्राफिक प्रहरीले अनिवार्य मास्क प्रयोग गर्नकालागि स्टिकर अभियान सुरु गरेको छ ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनका चालक, सह–चालक र यात्रुलाई अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गर्दै आजदेखि अभियानको सुरुवात गरेको हो । स्टिकर अभियानको सुरु गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपि उमेशराज जोशी सहितका ट्राफिक प्रहरीका उच्च अधिकारीहरु आफैं सडकमा खटिएका छन् । एसएसपी जोशी, यातायात व्यवसायी एवँ पदाधिकारी तथा अन्य प्रहरी अधिकृतहरुले काठमाडौं उपत्यकामा ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौं’ भन्ने सचेतनायुक्त स्टिकर टाँसेर अभियान सुरु गरेका हुन् ।

कोरोना संक्रमणको दर उच्च हुँदा पनि सार्वजनिक सवारीका साधन र अन्य यातायातका साधनमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड र सावधानीका उपाय पूर्णपालना नभएका कारण सचेतनामुलक अभियान सुरु गरिएको एसएसपी जोशीले बताउनुभयो । अभियानको उद्घाटन गर्दै एसएसपी जोशीले ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल अभिप्रायका साथ शुरु गरिएको सचेतना अभियानले संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बिस्वास व्यक्त गर्नुभयो ।

अव ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारीका साधनमा मास्कको प्रयोग गरे/नगरेको, आवस्यक सर्तकता र मापदण्ड पूरा भए/नभएको बारेमा कडाईका साथ अनुगमन पनि गर्नेछ ।