काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा पनि स्थगित भएको छ । त्रिविले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको हो ।
परीक्षा नियन्त्रण कार्यालयको आज बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । शुक्रबार र शनिवार हुने प्रदेश परीक्षा भने यथावत रहनेछ । त्यसपछिका परीक्षा अर्काे सुचना नभएसम्म स्थगित गर्ने निर्णय भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । त्रिविले माघ १० गतेदेखि तीन वर्षे एलएलबीको तेस्रो वर्षको र १३ गतेदेखि पहिलो वर्षको परीक्षा लिने तयारी गरेको थियो । यसअघि आजै प्रधानमन्त्री शेर बहादुर देउवाले परिक्षा हलको अवस्था अनुगमन गरेर सिसिएमसि निर्देशक समितिलाई आवश्यक निर्णय गर्न निर्देशन दिनुभएको थियो ।
यसैबीच, कोरोना संक्रमण बढेपछि लोक सेवा आयोगले लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ गतेदेखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि बिचमा तय भएका थिए । मुलुकभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि कोरोना संक्रमण पुष्टि भएपछि अयोग परीक्षा स्थगित गर्नुपर्ने दवावमा थियो ।