images
images

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ‘अर्ली इलेक्सन’ को पक्षमा

  • ६ माघ २०७८, बिहीबार १३:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि संसदको अर्ली इलेक्सनका पक्षमा मत राखेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी बैशाख वा जेठ महिनामा संघीय संसदको निर्वाचन गर्नु पर्ने प्रस्ताव राखेपछि मुलुकको राजनीति तरंगित भइरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि अर्ली इलेक्सनकै पक्षमा सहमती जनाएका हुन् । बालुवाटारमा प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको छलफलका क्रममा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न नदिएको र थप उदण्ड बन्दै गएकाले नयाँ जनादेश मार्फत अघि बढ्नु पर्ने आवश्यक्ता औंल्याएका हुन् । नेकपा एसका अध्यक्ष नेपालले संसद चल्न नदिने र जनताका गुनासा राख्न नदिने उदण्ड प्रतिपक्ष संसदमा राख्न नहुने भन्दै छिटो भन्दा छिटो निर्वाचनमा जानु पर्ने बताएका थिए ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि एमालेले संसदलाई निश्प्रभावी बनाएका कारण नयाँ संसद चयन गर्नु पर्ने भन्दै आफ्नो पुरानै प्रस्तावलाई दोहोर्याएका थिए । दुई नेताको अर्ली इलेक्सनको मत सुनेपछि नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले यसवारे हतारमा निर्णय गर्न नहुने भन्दै कानूनी र संवैधानिक आधारमा परामर्श गर्नु पर्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको आज अपरान्ह बस्ने भनिएको बैठक स्थगित भएपछि तीन नेताहरुवीच बालुवाटारमा छलफल भएको थियो । नेताहरुवीचको छलफलले भोली समन्वय समितिको बैठक बस्ने र निर्वाचनका बिषयमा छलफल गर्ने सहमति भएको छ ।