images
images

दोलखामा कोरोनाको असरः नागरिकता र राहदानी आलोपालो, स्थानीय सरकारको सेवा बन्द हुँदै

देशभर कोरोनाको अवस्था भयावह बन्दै जाँदा दोलखामा पनि तेस्रो लहरको कोरोनाको संक्रमण बढ्दै गएको छ । यसअघि शून्य संक्रमित रहेको दोलखामा पछिल्लो दुई साता यता संक्रमितहरु धमाधम फेला परेपछि संक्रमणको प्रभाव बढ्दै गएकोे हो ।

पछिल्लो पटक कोरोना संक्रमण फैलिन थालेपछि आर्थिक तथा शैक्षिक क्षेत्रमा संकुचन आउनुको साथै केही सरकारी तथा गैरसरकारी कार्यालयको काम समेत ठप्प हुन पुगेको छ भने जनजीवन नराम्रोसँग प्रभावित बन्दै गएकोे छ । तेस्रो लहरको कोरोना माहामारी बढ्दै गएपछि संघीय सरकारले देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएसँगै दोलखामा पनि एक साता यता निजी र सामुदायिक विद्यालयहरु बन्द छन् । अहिले निजी विद्यालयहरु धमाधम दोस्रो चरणको कोरोना माहामारीमा झै अनलाइन कक्षाको तयारीमा छन् ।

तामाकोशी र शैलुङ गाउँपालिकाको सेवा बन्द

कोरोना महामारीकै कारण विहिवारवाट जिल्लाका दुई स्थानीय सरकारले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कर्मचारीमा धमाधम कोरोना पुष्टि हुन थालेपछि जिल्लाको शैलुङ र तामाकोशी गाउँपालिकाले पालिकाबाट दिने अत्यावश्क बाहेकका सेवा बन्द गरेका हुन् । तामाकोशी गाउँपालिकाले पालिकाका ५ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द गरेको छ । कोरोनाको बढ्दो जोखिमलाई मध्यनजर गर्दै विहिवारदेखि माघ १२ गतेसम्म पालिकाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको पालिकाका स्वास्थ्य संयोजक अरुण मिश्रले जानकारी दिनुभयो । यसैगरी शैलुङ गाउँपालिकाले पनि पालिकाका एक दर्जनबढी कर्मचारी कोरोना संक्रमित भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । पालिका अध्यक्ष भरतप्रसाद दुलालले सार्वजनिक सूचना जारी गरी ६ दिन अर्थात शुक्रवारदेखि १३ गतेसम्मका लागि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

नागरिकता र राहदानी लिन आलोपालो

जिल्ला प्रशासन कार्यालय दोलखाले पनि भिडभाडका कारण कोरोनाको जोखिम बढ्न सक्ने भन्दै ९ वटा स्थानीय तहका नागरिकलाई दुई समूहमा विभाजन गरी नागरिकता र राहदानी लगायतका सेवा दिने निर्णय गरेको छ । जिप्रकाले सार्वजनिक सूचना जारी गरी माघ ९ गतेबाट आइतबार, मंगलबार र विहिबार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका, बैतेश्वर गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका गौरीशंकर गाउँपालिकाका वडाहरुलाई र सोमबार, बुधबार र शुक्रबार भीमेश्वर नगरपालिका, मेलुङ गाउँपालिका, शैलुङ गाउँपालिका र इलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका कालिञ्चोक गाउँपालिकाका वडाहरुलाई सेवा दिने जानकारी दिएको हो । यसअघि स्थानीय प्रशासनले जिल्लामा २५ जनाभन्दा बढी भेला हुनेगरी मेला, भेला तथा महोत्सव एवम् सामाजिक कार्यहरु नगर्न आदेश जारी गरेको थियो ।

आठ स्थानीय तहमा फैलियो कोरोना

जिल्लाको ९ वटा पालिकामध्ये ८ वटा पालिकामा कोरोना संक्रमण पुष्टि हुँदा विहिवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ११ पुगिसकेको छ । सो क्रममा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरुदेखि विगु गाउँपालिका बाहेकका ८ वटा स्थानीय तहका नागरिकहरु संक्रमित भइसकेका छन् । यद्धपी विगु गाउँपालिकामा भने तेस्रो लहर अन्तर्गत आजसम्म कुनै पनि मानिसलाई कोरोना पुष्टि भएको छैन । विहिवार मात्रै जिल्लामा एकैपटक ३४ जना नयाँ संक्रमित थपिएका छन् । जसमा सबैभन्दा बढी तामाकोशीमा ७ पुरुष र ५ महिला गरी १२ जना, भीमेश्वर नगरपालिकाका १० जना, जिरी नगरपालिकामा नगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव दाहाल सहित ५ जना, गौरीशंकरका ४ तथा कालिचोक र शैलुङ गाउँपालिकाका एकरएक जनामा कोरोना संक्रमण देखिएको हो ।

जिल्लामा चिसो बढेसँगै रुघाखोकी र ज्वरोका बिरामी ह्वात्तै बढेको बेला कोरोना संक्रमण पनि तीब्ररुपमा फैलिरहेको छ ।