
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका बहुमत केन्द्रीय सदस्यले सो अभियान त्यागेका छन् ।
संयोजक वामदेव गौतमले आफू नेकपा एमालेमा जान तयार भएको बताएसँगै बहुमत केन्द्रीय सदस्यले उनको साथ छोडेका हुन् । एमालेका पूर्वउपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य गौतमले एमालेमा जाने संकेत गरेपछि गौतम नेतृत्वको राष्ट्रिय अभियानका उपाध्यक्ष महेन्द्र अर्यालको नेतृत्वमा बहुमत केन्द्रीय सदस्यले रिपोटर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी सो अभियान त्यागेको घोषणा गरेका हुन् ।
अर्याल नेकपा एकता राष्ट्रिय अभियानमा लुम्बिनी प्रदेश ईन्चार्ज पनि हुन् । उनीसँगै अभियानका कर्णाली प्रदेश ईन्चार्ज डिल्लीराज भट्टराई, कोसी प्रदेश ईन्चार्ज ईन्द्र सुब्बा र मधेश प्रदेश ईन्चार्ज हरि काफ्लेले वामदेवबाट छुट्टिँदै विचार मिल्ने नेकपा माओवादी केन्द्र लगायत वामपन्थी दलसँग वार्ता गर्ने निर्णय गरेका छन् । त्यसका लागि उनीहरुले अर्यालको संयोजकत्वमा ४ सदस्यीय वार्ता समिति समेत गठन गरेका छन् ।