images
images

बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दै, १३७ सहकारीविरुद्ध उजुरी

  • ७ माघ २०८१, सोमबार १५:०९

हेटौँडा । बागमती प्रदेशका १३७ सहकारी संस्थाविरुद्ध उजुरी परेको छ ।

बचत रकम फिर्ता नगरेको भन्दै बचतकर्ताहरुले प्रदेशभित्रका १३७ सहकारी संस्थाविरुद्ध उजुरी दर्ता गरेका हुन् । ती सहकारीविरुद्ध परेका उजुरीमाथि छानबिन भईरहेको प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय अन्र्तगतको प्रदेश सहकारी रजिष्टार कार्यालयका रजिष्ट्रार राजन पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती मध्य ८० वटा सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरी कार्यालयमा पत्राचार गरिएको छ ।

बचतकर्ताको रकम फिर्ता नगर्ने, समस्या समाधानका लागि पत्राचार गर्दा पनि सम्पर्कमा नआउने सहकारी संस्थाका सञ्चालकमाथि कारबाही अघि बढाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुमा पत्राचार गरिएको कार्यालयले जनाएको छ ।

यसैबीच, बागमती प्रदेशमा समस्याग्रस्त सहकारीको संख्या बढ्दै गएको छ । पछिल्लो पटक बागमती प्रदेश सरकारले थप तीनवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । यो सँगै बागमती प्रदेशमा समस्याग्रस्त घोषणा हुने सहकारीको संख्या ५ पुगेको छ । प्रदेश सहकारी रजिष्टार कार्यालयका अनुसार पछिल्लो पटक सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पुलचोक ललितपुर, लालीगुँरास बचत तथा ऋण सहकारी संस्था काठमाडौँ र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था काठमाडौँलाई समस्याग्रस्त घोषणा गरिएको हो ।