
जिरी(दोलखा) । माथिल्लो तामाकोशी जलविद्युत केन्द्र पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।
गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षति पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले लामो समयपछि पूर्ण क्षमतामा उत्पादन थालेको हो । नेपाल विद्युत् प्राधिकरणले आज साँझदेखि आयोजनालाई विद्युतको माग उच्च हुने (पिक आवर)मा चलाउने जनाएको छ ।
लामो समय विद्युत उत्पादन बन्द भएपछि गत पुस ९ गतेदेखि माथिल्लो तामाकोशी आंशिक रूपमा सञ्चालनमा आएको थियो । आजदेखि भने पूर्णरुपमा सञ्चालनमा आएको हो । पूर्णरूपमा सञ्चालन गर्नका लागि हिजो र आज साँझसम्म आयोजना बन्द गरिएको थियो ।
लामो समयदेखि पूर्ण क्षमतामा उत्पादन बन्द हुँदा तामाकोशी जलविद्युत केन्द्रले करोडौं नोक्सानी व्यहोर्नुपरेको थियो । माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना हो ।