राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाह अकस्मात सुर्खेतवाट काठमाडौं फर्किनु, दाङमा एमालेको झण्डा जलाइनु र रास्वपाले भैरहवा र पोखरामा आयोजना गर्न लागेको चुनावी सभा एकाएक स्थगति गरिदा शुक्रवार देशको राजनीति तरङ्गित बन्न पुग्यो ।
रास्वपाका बरिष्ठ नेता बालेन सुर्खेतको चुनावी सभा अर्थात बाचापत्र सार्वजनिक कार्यक्रमवाट सिधै काठमाडौं फर्किनु र देशका प्रमुख सहरमा पूर्व निर्धारित दुई चुनावी सभा अन्तिम समयमा आएर स्थगित गरिनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
संयोग कि अरु केही ?
के बालेन साह बिरामी भएकै कारण भैरहवा र पोखराको सभा स्थगित गरिएको हो ? वा, यसका पछाडि अरु पनि कारण छन् ? चासोको विषय छ । सचिवालयका अनुसार धनगढीको सभा सकेर सुर्खेतको वीरेन्द्रनगर पुग्दा बालेन शाह बिरामी परेका थिए ।
बाचापत्र सार्वजनिक कार्यक्रममा उनले करिब ३ मिनेट भाषण गरे । शाह बुधबार रातिदेखि नै बिरामी भएको र डाक्टरहरूको सल्लाह अनुसार नै काठमाडौं आएको स्रोतले बताएको छ ।
प्रतिवाद गर्ने एमालेको चेतावनीले हो ?
बिहिवार राति दाङमा एमालेको झण्डा जलाएको र पार्टी अध्यक्ष केपी ओलीबिरुद्ध नारावाजी गरिएको भन्दै शुक्रवार एमालेले त्यसको बिरोध गर्यो । एमालेको लडाकु दस्ता नेशनल भोलिन्टियर फोर्स र युवा संघले देशभर रास्वपाको प्रतिवाद गर्ने चेतावनी दियो । युवा संघले मशाल जुलुश नैं निकाल्यो ।
तर, रास्वपा दाङले एमालेको झण्डा नजलाएको दावीसहितको बिज्ञप्ति निकाल्यो । सभापति रवि लामिछानेले दाङको चुनावी सभालाई सम्बोधन गर्दै झण्डा जलाउने रास्वपाको चरित्र नभएको भन्दै कोही कसैले गरेको भए कारवाही गर्ने बताए । उनले घुसपैठ भएर दोष रास्वपालाई लगाउन खोजिएको आशंका पनि गरेका छन् ।
एमाले र रास्वपा वीच अहिले देखिएको आरोप, प्रत्यारोप र आमने सामनेको अवस्थाको व्यवस्थापन हुन्छ वा आगामी दिनमा अझै तनाव बढ्दै जान्छ ? हेर्न बाँकी छ ।
चुनावी रणनीतिमा परिवर्तन होला ?
रास्वपाले एमालेको भोलिन्टियर फोर्स र युवा संघको चेतावनीकै कारण भैरहवा र पोखराको कार्यक्रम स्थगित गरेको अनुमान पनि छ । सम्भावित मुठभेड टार्नकालागि चुनावी सभा स्थगित गरिएको भन्नेहरु पनि छन् ।
तर, रास्वपाका उपसभापति डोल प्रसाद अर्यालले भने संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगायतका विशेष कारणले भैरहवा र पोखराको उद्घोष सभा स्थगित गरिएको मातहतका कमिटीलाई पत्राचार मार्फत भनेका छन् ।
रास्वपाले विशेष भनेको कारण चुनावी अभियान परिवर्तन भएको एक नेताले बताए । रास्वपा नेतृत्वलाई साना सभा र घरदैलो कार्यक्रमको चुनावी रणनीति बनाउने रास्वपाको तयारी रहेको ती नेताले जानकारी दिए ।



हाम्रो अपडेट 






