images
images

जलवायु परिवर्तनको असरः हिमालमा हिउँ छैन, गाउँबस्तीमा पानी

जलवायु परिवर्तनका कारण हिमालपग्लिन थालेपछि त्यसको प्रत्यक्ष असर विभिन्न मानव समुदाय र वन्यजन्तुमा देखापर्न थालेको छ । हिउँपग्लिने क्रम बढ्दै गएका कारण बागमती प्रदेशका दोलखा, रामेछाप र सिन्धुपाल्चोकसम्म फैलिएको रोल्वालिङ हिमश्रृङ्खलाका हिमालहरू कालोपत्थरमा परिणत हुन थालेका छन् ।

हिउँपग्लिएर साना–साना ताल बन्न थालेका छन् भने ती ताल विस्फोटनको खतरा पनि बढ्दै गएको छ । यसबाट मानवबस्ती समेत जोखिममा परेका छन । दोलखा, रामेछाप, सिन्धुली र तराईका जिल्लाहरू हिमताल बिष्फोटनको खतरामा परेका छन् । पानीका मुहान सुक्दा मानिसहरू बस्तीबाट विस्थापित हुन थालेका छन् भने उच्च हिमाली क्षेत्रमा हुने चौंरीपालन लगायतका व्यवसाय संकटमा परेका छन् । विश्वकै दुर्लभ हिमचितुवा लगायतका वन्यजन्तुहरू पनि लोप हुने अवस्थामा पुगेका छन् ।

हिमालबाट हिउँको सट्टा ढुंगा खस्न थालेका छन् । ती ढुंगा खेतबारीमा पुगेपछि च्छोरोल्पा हिमताल आसपासका मानिसहरूले खेती नै गर्न छाडेका छन् । तिब्बतको हिमताल फुटेर २०७३ असारमा भोटेकोसीमा आएको बाढीले १२५ भन्दा बढी घर बगाएको थियो भने ३ अर्ब भन्दा बढीको आर्थिक क्षति भएको थियो । सन् १९३५ मा तिब्बतकै ताराच्छो हिमताल फुटेर भोटेकोशीमा बाढी आउँदा साढे ६६ हजार वर्ग किलोमिटर खेती योग्यजमिन कटान गरेको थियो ।

च्छोरोल्पा हिमताल बिष्फोटको खतरा

बागमती प्रदेश अन्र्तगत दोलखा, रामेछाप, सिन्धुली सहित तामाकोशी र सुनकोसी नदी करिडोरका बासिन्दा सबैभन्दा बढी हिमताल विस्फोटनको त्रासमा परेका छन् । रोल्वालिङ हिमश्रृङ्खलामा पर्ने च्छोरोल्पा हिमताल विस्फोटनको चर्चाले समग्र मानव समुदायमा त्रास छाएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–१ मा रहेको बेदिङ र ना गाउँको सिरानमा ४५८० मिटरको उचाइमा रहेको च्छोरोल्पा हिमताल करिव ५० वर्षअघि बनेको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्गकिलोमिटर क्षेत्रफलमा मात्र रहेकोमा सन् १९९७को भू–उपग्र्रहीय नक्सा अनुसार १.६५ वर्ग किलोमिटरसम्म फैलिइसकेको देखिन्छ । १० करोड घनमिटर पानी रहेको अनुमान गरिएको १३५ मिटर गहिरो यो हिमताल कुनै पनि बेला विस्फोट हुनसक्ने खतराले नदी किनाराका बासिन्दा त्रसित छन् ।

तापमान वृद्धिका कारण हिमालको हिउँपग्लिँदै गएको छ, फलतःतालको आकार बढ्दैछ । यसले ताल विस्फोटनको खतरा निम्त्याएको छ । यदि यो ताल विस्फोट भएमा तामाकोसी र सुनकोसी नदिकिनाराका सयौं परिवार विस्थापित हुनेछन् भने हजारौं रोपनी जमिन बगरमा परिणत हुनेछ । यसको क्षति अकल्पनीय हुने च्छोरोल्पा हिमतालको बारेमा अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था इसिमोडले जनाएको छ ।
च्छोरोल्पा फुट्न सक्ने चर्चा शुरु भएपछि सन् २००० मा जोखिम कम गर्न तालको तीन हजार घनमिटर घटाइएको थियो । इसिमोड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडीपी) ले संयुक्त रुपमा गरेको अध्ययनले च्छोरोल्पा फुटेमा ५ हजार मानिस प्रभावित हुने देखाएको थियो । जोखिम कम गर्न च्छोरोल्पामा खतराको सूचना दुईदेखि ६ घण्टा अघि नै पाइने गरी पूर्व सूचना प्रणाली जडान गरिएको छ ।

च्छोरोल्पाको विषयमा अध्ययन गरिरहेका फ्रन्ड अफ अर्थ र प्रो पब्लिकका सदस्य अधिवक्ता विष्णुप्रसाद भुसालले जलवायु परिवर्तनका कारण हिमालबाट हिउँको सट्टा ढुंगा खस्न थालेको जानकारी दिनुभयो । हिमालबाट खसेका ढुंगाहरू खेतवारीमा पुगेपछि च्छोरोल्पा आसपासका मानिसहरूले खेती नै गर्न छाडेका छन् । यस्तै तालको आकार ठूलो बनेको, स्थानीय जनताको जीविकोपार्जनमा समस्या थप पैदा भएको, जोखिम कम गर्न तालमा साइरन राख्ने बाहेक सरकारले अरु केही काम नगरेकोमा उहाँको गुनासो छ ।

च्छोरोल्पाको पानी घटाउन र प्रेसर बढ्न नदिनका लागि तत्काल पहल गर्नुपर्ने देखिएपनि सरकारले बेवास्ता गरिरहेको भुसालले बताउनुभयो । रेड जोनमा परिसकेको अवस्थामा च्छोरोल्पामा केही समयअघि पानीथोरै घटाउँदा जोखिम केही कम त भएको छ तर जति कम हुनुपर्ने हो, त्यतिभएको छैन ।

तिब्बतको ताल बिष्फोटपछि बढ्यो त्रास

जलवायु परिवर्तनकै असरका कारण च्छोरोल्पा हिमताल विस्फोटको चर्चा चलि रहेका बेलामा केही वर्षअघि चीनको तिब्बतमा रहेको एक हिमताल विस्फोट भएको थियो । सो हिमताल फुटेर २०७३ साल असारमा भोटेकोसीमा आएको बाढीले १२५ वटा भन्दा बढी घर बगाएको थियो भने ३ अर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको थियो ।

त्यसअघि सन् १९३५ मा पनि तिब्बतको तारा च्छो हिमताल फुटेर भोटेकोशीमै आएको बाढीले साढे ६६ हजार वर्गकिलोमिटर खेतीयोग्य जमिन कटान गरेको इसिमोडको एक प्रतिवेदनमा उल्लेख छ । जलवायु परिवर्तनका कारण हिमालमा हिउँपग्लिँदै जाँदा रोल्वालिङ हिमश्रृंखला र चीनको तिब्बततर्फ हिमश्रृंखलामा रहेका साना हिमतालहरू फुट्ने जोखिम बढ्दै गएको छ । यसले ठुलो असर गर्ने र अकल्पनीय मानवीय र आर्थिक क्षति गर्ने खतरा छ ।

हिमालमा हिउँ पग्लिँदै जाँदा हिमाल आरोहण गरेर जीविकोपार्जन गर्ने हिम मजदुरहरूको पेशा पनि चौपट भएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–९ स्थित वेदिङ, सिमिगाउँ र टासिनाम लगायत गाउँका मानिसहरूको एक मात्र आम्दानीको स्रोत पर्यटन हो । हिमाल आरोहण र हिममजदुरी गरेर जीविकोपार्जन गर्ने यहाँका मानिसहरू आफ्नो पेशाबाट विस्थापित हुन थालेका छन् ।

साना हिमाल कालोपत्थरमा परिणत हुँदै

रोल्वालिङ हिमश्रृङ्खला तिब्बतसम्म फैलिएको हिमश्रृङखला हो । नेपालमा यो हिमश्रृङखला उत्तरपुर्वमा नाङ्पालादेखि दक्षिण पश्चिममा तामाकोशी नदीसम्म फैलिएको छ । रोल्वालिङ हिमाल अन्तर्गत ५ हजारदेखि ७ हजारमा मिटरमा पर्ने करिब एक दर्जन हिमाल छन् ।

रोल्वालिङ् हिमश्रृङ्खलामा ७ हजार मिटरभन्दा बढी उचाइका पाँच वटा हिमाल छन् भने ७ हजार मिटर भन्दा कम उचाइका आठ वटा हिमालहरू रहेका छन् । ७हजार मिटर उचाईका हिमालमा गौरीशंकर हिमाल (७१३४ मिटर), खाङकरु (७१७५ मिटर), खाङनाछुगो, धनाग्री र फिथेरीगो हो । यस्तै ७ हजार मिटर भन्दा कम उचाईका हिमालहरूमा ढोल्माखान, बेदिङ्गा, चेकिगो भमुङगो, रामदुङ, थतछ्यामो, लनदुक, चोपुचे लगायत छन् ।

जलवायु परिवर्तनका कारण रोल्वालिङ् हिमश्रृङ्खला अधिकांश समय हिउँ विहिन हुन थालेको छ । गर्मी मौसममा गौरीशंकर लगायतका केही ठूला हिमाल बाहेक अन्य साना हिमालहरूमा हिउँ पग्लिएर कालो पत्थरमा परिणत भएका छन् । १२ महिना हिउँले ढाकिने हिमालहरू हिउँ विहिन बन्न थालेपछि साना हिमाल आरोहणका लागि आउने पर्यटकहरूको संख्या पनि वर्षेनी घट्दो छ । नेपाल पर्वतारोहण संघ (एनएमए) बाट आरोहण अनुमति लिएर गरिने हिमाल आरोहण घट्दै गएको हो ।

सगरमाथा आरोहण–पूर्व विदेशी पर्यटकहरू रिहर्सलका लागि रोल्वालिङ क्षेत्रका साना हिमाल आरोहणमा आउने गरेका थिए । जलवायु परिवर्तनले हिउँ पग्लिन थालेकै कारण साना हिमालहरूको अस्तित्व समेत खतरामा पर्दै गएको छ । एनएमएका महासचिव कुलबहादुर गुरुङले साना हिमालमा हिउँ घटेर कालो पत्थर देखिन थालेपछि मानिसहरू हिमाल आरोहणका लागि आउन कम भएको बताउनुभयो ।

दोलखामा पर्ने चेकिगो हिमाल आरोहरणका लागि एनएमबाट २०१२/१३ मा १ वटा समुहले रुट परमिट लिएकोमा ३ जनाले हिमाल आरोहण गरेका थिए । २०१३/१४ मा सो हिमालमा कसैले हिमाल आरोहण गरेनन् । २०१८/१९, २०१९/२० मा चेकिगो हिमाल आरोहणका लागि एनएमएबाट कसैले अनुमति लिएका छैनन । यसैगरी २०१२/१३ मा रामदुङ हिमाल आरोहका लागि १३ समुहले अनुमति लिएकोमा ४८ जनाले हिमाल आरोहण गरेका थिए । २०१३/१४ मा १४ समुहबाट ७० जनाले हिमाल आरोहण गरे । २०१८/१९ मा रामदुङ हिमाल आरोहका लागि ५ समुहले रुट परमिट लिएकोमा २७ जनाले सो हिमाल आरोहण गरेका छन् । सो संख्या २०१९/२० मा आउँदा घटेको देखिन्छ । रामदोङ हिमाल आरोहणका लागि २०१९/२० मा २ समुहले रुट परमिट लिएकोमा ६ जनाले मात्रै हिमाल आरोहण गरेका छन् । विगतको तुलनामा ६० प्रतिशतले हिमाल आरोहण गर्नेको संख्या घटेको यो तथ्यांकले देखाएको छ । हिमालमा हिउँकम भएपछि रुट बिग्रने,जोखिम बढ्ने लगायतका कारण मानिसहरू आउन छाडेको एनएमएका महासचिव गुरुङको भनाइ छ ।

हिममजदुरको पेशा संकटमा

दोलखाको गौरीशंकर गाउँपालिका–९ बेदिङबाट १५–२० वर्षअघि चारैतिर सेताम्मे देखिन्थ्यो तर अहिले आसपासका सबै हिमालमा कालोपत्थर मात्रै देखिन्छ । बेदिङ स्थायी घर भएका विश्वविख्यात हिमआरोही पेम्बादोर्जे शेर्पाका अनुसार अहिले सो क्षेत्रमा पानीको मुहान सुकेको छ र पानी नभएकै कारण दूधकुण्ड र रामदोङको खर्कमा चौँरी गोठलान बन्द भएको छ । २१ पटक सगरमाथा आरोहण गरिसकेका आरोही शेर्पाले हिमालमा हिउँ नभएका कारण स्थानीयको जनजीवन प्रभावित बन्न पुगेको बताउनुभयो । हिमालमै आश्रित परिवारलाई जलवायु परिवर्तनले गम्भीर असर गरेको उहाँको भनाइ छ ।

बेदिङ गाउँविश्वमै सबैभन्दा कम जनसख्या र धेरै सगरमाथा आरोही जन्माउने गाउँ हो । यहाँको शेर्पा समुदायको मुख्य पेशा भनेकै टे«किङ र हिमाल आरोहण हो । बेदिङको कुल जनसंख्या ३११ जनामध्ये ६ महिला सहित ६५ जनाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरिसकेका छन् । माउन्ट एभरेष्ट समिटर्स क्लवका अध्यक्ष दावाछिरी शेर्पाका अनुसार बेदिङका एकै परिवारका ८ जनासम्मले हिमाल आरोहण गरेका छन् । हिमालमा हिउँ पग्लँदै जाने र टे«किङ तथा साना हिमाल आरोहण गर्न आउने आरोहीहरूको संख्या समेत घट्ने भएपछि बेदिङका शेर्पाले टे«किङ र हिमाल आरोहणको पेशा परिवर्तन गर्न थालेको अध्यक्ष दावाछिरी बताउनुहुन्छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष छिरिङ शेर्पाले पनि जलवायु परिर्तनका कारण हिमाल कालोपत्थरमा परिणत हुन थालेपछि हिमालमै आश्रित परिवार मारमा परेको बताउनुभयो । उहाँका अनुसार सो क्षेत्रमा अन्नवाली उत्पादनमा समेत कमी आएको छ । पहिले आलु खेती धेरै हुने गरेको बेदिङमा अहिले आलु निकै कम उत्पादन हुन्छ । हिउँपहिरो आउने,हिमालमा हिउँ कम हुँदा जोखिम बढी हुने र समयमा हिउँनपर्ने लगायतका कारण ६ वर्षदेखि हिमाल आरोहण गरिरहेका आरोहीले पेशा नै बदलेका छन् । बेदिङका पासाङ कामी शेर्पा त्यसरी नै पेशा नै परिवर्तन गर्ने व्यक्ति हुन् जसले अहिले ट्रेकिङ्ग गाईड पेशा छोडेर होटल व्यवसाय अंगालेका छन् ।

रोल्वालिङ् हिमश्रृङ्खलाका साना हिमाल कालोपत्थरमा परिणत हुँदा पर्यटकहरूको संख्या वर्षेनी घट्दो छ । पानीको मुहान सुकेकोले दूधकुण्ड र रामदोङको खर्कमा चौँरी गोठ बन्द भएको छ । पहिले आलु खेती धेरै हुने गरेको ठाउँमा अहिले घटेको छ । हिमाल आरोहण गरिरहेका आरोहीले पेशा नै बदल्न थालेका छन् । गाउँवस्ती सुख्खाग्रस्त हुन थालेपछि मान्छेहरू बसाइँ सर्न थालेका छन् ।

मुहान सकेपछि बस्ती रित्तिदै

जलवायु परिवर्तनको असरले रामेछापका केही वडाहरू सुख्खाग्रस्त भएका छन् । पानीको मुहान सुकेपछि मानिसहरूबस्ती छोड्न थालेका ह्न् । रामेछापका ८ वटा स्थानीय तहमध्ये मन्थली नगरपालिका सवैभन्दा बढी सुख्खाग्रस्त भएको छ । मन्थलीमा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार ४० हजार मानिस बसोबास गर्दछन् । नगरका १४ वटा वडामध्ये १ देखि १२ सम्मका वडा सुख्खाग्रस्त छन् । धमाधम पानीको मुहान सुक्न थालेपछि नदी तटीय क्षेत्रतिर मानिसहरू सर्न थालेका छन् । मन्थली नगरपालिकाको माथिल्लो भेगका मानिसहरू पानीको सुविधा खोज्दै तल्लो भेगमा आउन थालेका हुन् । सो क्षेत्रका स्थानीय वासिन्दा गाउँ छोडेर बेशीतिर सर्न थालेका हुन् ।

मन्थली नगरपालिकाको कुल क्षेत्रफल २ सय ११ दशलमव ७७ वर्गकिलोमिटर मध्ये २३ दशलमव २५ क्षेत्रफलमा अन्नबाली उत्पादन हुन्छ भने एक सय ८८ दशमलव ५२ वर्ग किलोमिटर भू–भाग सुख्खाग्रस्त छ । नगरपालिकाले संकलन गरेको तथ्यांक अनुसार गत आर्थिक बर्ष मात्रै मन्थली नगरपालिकामा पानीको अभाव भएपछि २५ परिवारले गाउँ छाडेर बसाइँ सरेका छन् । खानेपानीको अभाव समाधान गर्न स्थानीय सरकारले तामाकोशी र सुनकोशी नदीवाट लिफ्टिङ मार्फत खानेपानीको व्यवस्थापन गरेको मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले जानकारी दिनुभयो ।

रोल्वालिङ क्षेत्रमा धेरै हिउँचितुवा रहेको अनुमान गरिए पनि गौरीशंकर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्रयापिङमा एउटा मात्रै हिउँचितुवा देखिएको छ । 

हिउँ चितुवालोप हुँदै

दोलखाको रोल्वालिङ क्षेत्रमा धेरै हिउँचितुवा रहेको अनुमान गरिए पनि गौरीशंकर संरक्षण क्षेत्रले गरेको क्यामेरा ट्रयापिङमा एउटा मात्रै हिउँचितुवा देखिएको छ । जलवायु परिवर्तनका कारण हिउँ चितुवा पनि लोप हुँदै गएको जानकारहरू बताउँछन् । विश्वमा १० हजार भन्दाकम संख्यामा जीवित रहेको अनुमान गरिएको हिमचितुवाको संख्या नेपालमा ३०० देखि ५०० मात्ररहेको अनुमान गरिएको छ ।

दोलखास्थित गौरींशकर संरक्षण क्षेत्रमा भने ३ देखि ५ वटासम्म हिम चितुवा रहेको अनुमान छ । त्यसमध्ये जिक्यापले जिल्लाको विगु गाउँपालिका–१ (साविक लामावगर गाविस–१) लप्ची उपत्यकामा दुई बर्षअघि गरेको क्यामेरा ट्रापिङबाट दोलखामा पहिलो पटक हिमचितुवा (अन्सियाअन्सिया) को उपस्थिति आधिकारिक रुपमा प्रमाणित भएको छ । अनुसन्धानका क्रममा विगतमा रेकर्ड नभएको र सुनौलो बिरालो (गोल्डेन क्याट) हिमचितुवा फेला परेको थियो । २०७५ साल असोजदेखि २०७६ बैशाखसम्म गरेको अनुसन्धानले समुद्री सतहबाट ४ हजार ८७ मिटर भन्दा माथि हिम चितुवाको तस्बिर रेकर्ड भएको छ ।

आयोजनाका तत्कालीन संरक्षण अधिकृत बिष्णुप्रसाद पाण्डे तथा पोखरा विश्वविद्यालय, नेपाल इन्जिनीयरिङ कलेज, स्नात्तकोत्तर अध्ययन केन्द्रका उपप्रध्यापक डा.नारायणप्रसाद कोजुको संयुक्त नेतृत्वमा आयोजनाको प्राकृतिक स्रोत संरक्षण सहायक शंकरमान थामी र स्तानकोत्तर तहमा अध्ययनरत विद्यार्थी बिजय बस्यालको समुहले लप्ची उपत्यकामा क्यामेरा ट्रापिङ तथा स्थलगत अनुसन्धान गरेको हो । हिउँ चितुवा लोप हुँदै जानुका कारणहरूमा जलवायु परिवर्तनले उनीहरूको वासस्थानमा पारेको असर पनि एउटा कारण हो । हिउँ चितुवा हिमाली भेगको चिसो वातावरणमा अनुकुल भएर बस्ने हुँदा तापक्रम परिवर्तनका कारण उसको बासस्थान अझ उच्च भागमा सार्न आवश्यक हुन्छ । जलवायु परिवर्तनकै कारण गौरीशंकर संरक्षण क्षेत्रको माथिल्लो क्षेत्रमा पाइने हिम चितुवा तिब्बततर्फ सर्दै गएको अनुमान गरिएको छ ।

जलवायु परिवर्तनकै कारण हिम चितुवाको आहारामा पनि प्रभाव पर्दै गएको बिज्ञहरूले बताएका छन् । हिउँचितुवाको अध्ययन गरिरेका विज्ञ उपप्रध्यापक कोजुका अनुसार हिउँचितुवाले शिकार गर्ने जनावरलाई तापमान वृद्धिको प्रभाव पर्छ । तसर्थ हिउँ चितुवाले बासस्थान परिवर्तन गर्दा उसका आहारा जीवहरू खोज्न फरक बासस्थानमा जाने वा आउने हुनसक्छ । अन्य शिकारी जीवसँग प्रतिस्पर्धा बढ्ने कारण पनि यही भएको कोजुले बताउनुभयो । तल्लो भेगमा बस्ने शिकारी जीवहरू चितुवा फ्याउरो र स्यालहरू पनि शिकारको खोजीमा माथिल्लो हिमाली भेगमा पुग्छन् ।

यसले प्रतिस्पर्धा बढ्न गई पारिस्थितिक प्रणालीमा प्रभाव पर्छ”, डा.कोजुले भन्नुभयो,“जलवायु परिवर्तनका कारण नयाँ रोग लाग्नसक्ने भएका कारण पनि हिउँचितुवा लोप हुँदै गएको छ ।”जलवायु परिवर्तनका कारण तापक्रम परिवर्तन, त्यसका कारण बासस्थान परिवर्तन, त्यसका कारण नयाँ प्रजातिहरूसँग प्रतिस्पर्धाका साथै आहारा जीवमा आउने परिवर्तनले नयाँ रोगब्याध फैलिने सम्भावना समेत बढ्न जाने अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यार्सागुम्बा लोप हुने अवस्थामा

दोलखाको उत्तरी हिमाली क्षेत्रमा यार्सागुम्बा पाइन्छ । गौरीशंकरको दालदुङ, लामाबगरको लप्चि लगायतका उत्तरी क्षेत्रको माथिल्लो हिमाली भेगमा यार्सागुम्वा संकलन गर्न ठूलो संख्यामा मानिसहरू पुग्ने गर्दछन् । यार्सा संकलनका लागि डोल्पा र ताप्लेजुङसम्मका मानिस पनि सो क्षेत्रमा आउने गरेका छन् ।

चार वर्षको तथ्यांकलाई हेर्दा यार्सागुम्वा संकलनमा बर्षेनीकमी आउन थालेको छ । जिक्याप क्षेत्रभित्र २०६८ सालदेखि यार्सागुम्वा संकलनकार्य सुरु भएको थियो । २०६८/७९ मा ८६ किलो, २०७२/७३ मा ३५ किलो, २०७४/७५ मा ३९ किलो र २०७७/७८ मा १० किलो मात्रै यार्सागुम्वा संकलन भएको छ । जलवायु परिवर्तनकै असर स्वरुप यस्तो भएको गौरीशंकर संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण क्षेत्रका अनुसार यार्सागुम्वा लगायतका धेरै बहुमुल्य जडिवुटिहरू जलवायु परिवर्तनकै कारण लोप हुने अवस्थामा पुगेका छन् ।

चौरीपालन पनि संकटमा

जलवायु परिवर्तनकै कारण चौंरीपालन व्यवसाय पनि संकटमा परेको छ बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक र रसुवामा किसानहरूले व्यवसायिक रुपमा चौंरीपालन गर्दै आएका छन् । तर अहिले जलवायु परिवर्तनका कारण चौंरीपालन व्यवसायका लागि आवश्यक पर्ने खर्क र घाँस तथा चरन क्षेत्रको अभाव हुँदै गएको छ । उच्च लेकाली क्षेत्रहरू सुख्खा हुन थालेको र चौंरीमा विभिन्न किसिमका रोगहरूले आक्रमण गर्न थालेपछि चौंरीपालन व्यवसाय संकटमा परेको किसानहरूले बताएका छन् ।

दोलखाको जिरी नगरपालिकाको माली, स्यामा, गौरीशंकर गाउँपालिका, कालिञ्चोक गाउँपालिका तथा रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाको उच्चहिमाली क्षेत्रमा व्यावसायिकचौरी पालन गरिन्छ । सिन्धुपाल्चोकको उत्तरी हिमाली क्षेत्रमा पनि चौंरी पालन गरिदै आएको छ । विशेषगरी जिरीको वडा नम्बर १ मा श्यामाको ढुंगे, खारे, वडा नम्बर २ मालि, वडा नम्बर ३, वडा नम्बर ५ चेर्दुङ क्षेत्र, वडा नम्बर ६ बुलडाँडा लगायतका स्थानमा चौंरी पालन व्यवसाय भइरहेको छ ।

यस्तै, गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ जुँगु, वडा नम्बर ३ र ४ कोझ्याकु, वडा नम्बर ५ सुरी, वडा नम्बर ६ चंखु, वडा नम्बर ७ मार्वु, वडा नम्बर ९ गौरीशंंकरको माथिल्लो भेग, कालिञ्चोक गाउँपालिकाको वडा नम्बर १, वडा नम्बर २ बाबरे, वडा नम्बर ५ र ६ लापिलाङका विभिन्न क्षेत्रमा चौरी पालन व्यावसायिक रुपमा गरिँदै आएको छ । गौरीशंकर–५ का चौरी पालन व्यवसायी फुर्वा शेर्पाले चौरीलाई घाँस, स्थानको व्यवस्थापन लगायतमा समस्या हुन थालेको बताउनुयो । यस्तै गौरीशंकर गाउँपालिकामा करिब १४ वर्षदेखि व्यावसायिक रुपमा चौरी पालन गर्दै आएकी सोना शेर्पाले पनि अहिले खर्कको अभाव र पानीको मुहान सुक्दै गएपछि चौरी पालन व्यवसाय प्रभावित बन्न पुगेको जानकारी दिनुभयो ।