
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएको छ ।
नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मतमा प्रधानमन्त्री प्रचण्डलाई ११ दलले समर्थन जनाउने यसअघि नै घोषणा गरिसकेका छन् । नेकपा एमाले, राप्रपा र नेमकिपाले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे हालसम्म कुनै निर्णय गरेका छैनन ।
संविधानको धारा १ सयको उपधारा २ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने उल्लेख छ । गत पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले यसअघि पुस २६ मा संसदमा विश्वासको मत लिनुभएको थियो ।