
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउनुभएको छ ।
सभामुख देवराज घिमिरेले आज संसदमा प्रधानमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि भएको मत विभाजनमा प्रधानमन्त्रीको पक्षमा बहुमत प्राप्त भएको हो । जसअनुसार प्रचण्डलाई विश्वासको मत रहेको पक्षमा १ सय ७२ जना सांसदको मत परेको छ भने ८९ जना सांसदले प्रधानमन्त्रीलाई विश्वासको मत नरहेको पक्षमा मतदान गरेका छन् । एक जना सांसद तटस्थ बसेका छन् । प्रतिनिधिसभामा भएको मतदानमा कुल २ सय ६२ जना सांसद उपस्थित भएका थिए । यसअघि प्रधानमन्त्री प्रचण्डले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएको थियो ।
त्यसबेला प्रचण्डको पक्षमा २ सय ६८ जना सांसदले मतदान गरेका थिए भने दुई जनाले विपक्षमा मतदान दिएका थिए । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्डले फेरि विश्वासको मत लिनुपरेको हो । दोस्रो पटक विश्वासको मत लिँदा प्रचण्डलाई एमाले, राप्रपा र नेमकिपा बाहेका दलले विश्वासको मत दिएका छन् । राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले कांग्रेसलाई सघाएपछि पुस १० मा बनेको एमाले–माओवादी सहित सात दलको सत्ता गठबन्धन भत्किएको हो । प्रचण्डले विश्वासको मत पाएसँगै पुस १० अघिको तत्कालीन सत्ता गठबन्धन औपचारिक रुपमै भत्किएको छ । प्रचण्ड गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।