
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभरका २ हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सञ्चालन हुने जनाएको हो । यो वर्ष एसईईमा देशभरका ५ लाख १४ हजार ७१ जना विद्यार्थीहरु सहभागी हुने भएका छन् । गत आर्थिक वर्षको भन्दा यो वर्ष ४९ हजार २ सय ८६ जनाले बढीले हो । यस वर्ष सबैभन्दा बढी काठमाडौँमा ३९ हजार ६ सय र सबैभन्दा कम मनाङमा ४३ जना विद्यार्थी रहेको बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । १ सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटाउने व्यवस्था मिलाइएको छ । ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिको बोर्डले जनाएको छ ।
यसैबीच बागमती प्रदेशबाट यो वर्ष एक लाख ८ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडबृद्धि गरी एक लाख ८ हजार २ सय ६५ जना परीक्षार्थी एसईईमा सहभागी हुने भएका हुन् । जसमध्ये ५२ हजार ४ सय ९० जना छात्रा, ५५ हजार ७ सय ७३ जना छात्र र २ जना अन्य रहेका छन् । प्रदेशका १३ जिल्लामा ४ सय ३८ परीक्षा केन्द्रहरूकोे व्यवस्था गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । परीक्षा आजबाट सुरु भई चैत १९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेबाट सुरु भई ११ बजेसम्म चल्ने छ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । एसईईलाई मर्यादित, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन तीनवटै तहका सरकार र सारोकारवाला सबैलाई आवश्यक सहयोग गर्न बोर्डले आग्रह गरेको छ ।