images
images

सिन्धुलीमा झडपः ११ जना प्रहरी घाईते, तीनको अवस्था गम्भिर

  • ७ बैशाख २०७९, बुधबार १५:५८

सिन्धुली । सिन्धुलीको पिपलभञ्ज्याङमा प्रहरी र स्थानीयबीच झडप हुँदा ११ जना प्रहरी घाईते भएका छन् ।

अवरुद्ध विपि लोकमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले विपि लोकमार्ग अन्र्तगत कमलामाई नगरपालिका वडा नम्बर २ पिपलभञ्ज्याङ तनावग्रस्त बनेको हो । बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुंगा र बोतलले लागेर ११ जना प्रहरी घाईते भएका छन् । उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाईतेमध्ये तीन जनालाई गम्भिर चोट लागेको प्रहरीले जनाएको छ । बोलेरोको ठक्करबाट गम्भिर घाईते भएका पैदलयात्री ३९ वर्षिय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारवार्ही र क्षतिपुर्तिको माग गर्दै आज विहानदेखि नै सडक अवरुद्ध गरेका छन् ।

दोहोरो झडप हुँदा रोकि राखेका केही सवारीका साधनमा समेत क्षति पुगेको छ । पिपलभञ्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुंगा र खाली बोतल तथा दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाई फायर गरेको छ । लोकमार्ग अवरुद्ध भएपछि सयौंको संख्यामा सवारीका साधनहरु जाममा परेका छन् । झडप रोक्न र अवरुद्ध लोकमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।