भक्तपुर । नेपाली क्रिकेट टोलीले सोमबार घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ ।
बलियो प्रतिद्वन्दीका रूपमा देखिएका नेपाल र यूएईबीच कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टी–२० क्रिकेट शृंखला हुन लागेको हो । खेल नेपाली समय अनुसार साँझ ५ बजे शुरू हुनेछ ।
फ्लडलाइटमुनि खेल
एसोसिएट क्रिकेटमा लामो समयदेखिका यी प्रतिस्पर्धीबीच फ्लडलाइटमुनि खेल हुन लागेको हो । नेपाली टोलीले घरेलु मैदानमा पहिलो पटक ‘फ्लड लाइट’ मा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
कीर्तिपुरस्थित क्रिकेट मैदानले पनि यही खेलमार्फत् पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउने ऐतिहासिक उपलब्धि हासिल गर्नेछ । यद्यपि, यो रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) को खेल भने फ्लड लाइट’मा भएको थियो ।
दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता
नेपाली पुरुष क्रिकेट टोलीले करिब दुई वर्षपछि कीर्तिपुर मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
नेपालले कीर्तिपुर मैदानमा पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आईसीसी सन् २०२४ को मार्च ५ मा नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० शृंखलाको फाइनल खेलेको थियो । उक्त खेलमा नेपाली टोली चार विकेटले पराजित भएको थियो ।
११ मध्य ६ खेलमा नेपालको जित
नेपालले यूएईसँग दुई खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न लागेको हो । शृंखलाको दोस्रो खेल मंगलबार खेलिने छ । दोस्रो खेल पनि ‘फ्लड लाइट’मै खेलाइने छ ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच हालसम्म कुल ११ खेल भएको छ । त्यसमध्ये ६ खेलमा नेपाल विजयी भएको छ भने ५ खेल युएईले जितेको छ ।
नेपाल र यूएईबीच पछिल्लो भिडन्त सन् २०२५ को अक्टोबर १२ तारिखमा भएको थियो । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । नेपाली टोलीले घरेलु मैदानमा भने यूएईसँग हालसम्म चारवटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानी
यूएईविरुद्धको पछिल्लो शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ । नियमित कप्तान रोहित पौडेललगायतका केही अनुभवी खेलाडी यो शृंखलामा सहभागी हुने छैनन् ।



हाम्रो अपडेट 






