भक्तपुर । बागमती प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा चार बालिकासहित ७ जनाको मृत्यु भएको छ ।
विभिन्न जिल्लामा भएका घटनामा चार जना बालिका, दुई जना पुरुष र एक महिलाको मृत्यु भएको हो । प्रहरीका अनुसार चार जनाको लडेर मृत्यु भएको छ भने दुई जनाको पानीमा डुबेर तथा एक जनाको चट्याङ लागेर मृत्यु भएको हो ।
बालिकाको ज्यान गयो
रामेछापमा भएका दुई घटनामा दुई बालिकाको ज्यान गएको छ । उमाकुण्ड गाउँपालिका–४ मा परेको चट्याङ लागेर ९ वर्षिया बालिका सुनमाया तमाङको मृत्यु भएको छ भने रामेछाप नगरपालिका–४ हिमगंगाकी १० वर्षिया वालिका मनिषा श्रेष्ठको पनि बाख्रा चराउन गएका बेला लडेर मृत्यु भएको छ ।
पानीमा डुबेर मृत्यु
प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१४ की एक वर्षिया बालिका समृद्धि विकको आफ्नै घरमा राखिएको पानीको बाल्टिनमा डुबेर मृत्यु भएको छ भने मकवानपुरको थाहा नगरपालिका–६ मा ७ वर्षिया बालिका युनिसा राईको खोलामा डुवेर मृत्यु भएको हो ।
आँगनमा लडेर मृत्यु
धादिङको निलकण्ठ नगरपालिका–१२की ५९ वर्षिया फुलमाया नेपालीको आफ्नै घरको आँगनमा लडेर मृत्यु भएको छ भने चितवनको राप्ती नगरपालिका–१० का ५६ वर्षिय रामबहादुर घलानको घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।
यस्तै, नुवाकोटको लिखु गाउँपालिका–३ भलादमीडाँडाका ५५ वर्षिय सुब्बा राईको आफ्नै घरको आँगनमा लडेर मृत्यु भएको छ ।










