images
images

चुनाव हारेका भूपदेव बने रास्वपाका महामन्त्री

  • ७ बैशाख २०८३, सोमबार १७:३८

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टीले भुपदेव शाहलाई महामन्त्री बनाएको छ।

आज बसेको केन्द्रीय समिति बैठकले साहलाई महामन्त्री बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले बताए । शाह यसअघि पार्टीमा केन्द्रीय सदस्य थिए । काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले पद छाडेर रास्वपा प्रवेश गर्दा भूपदेव पनि उनीसँगै सचिवालयमा थिए ।

प्रमुख स्वकीय सचिव भएर काम गरेका उनी बालेनका निकट पात्र मानिन्छन् । पछिल्लोपटक फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । यद्यपि उनी निर्वाचनमा भने पराजित भएका थिए ।

यसअघि नै भएको थियो सहमति

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपाबीच गत वर्ष पुस १३ गते एकताको सहमति भएको थियो । पार्टी एकीकरण हुँदा  भूपदेवले दुवै पक्षलाई मिलाउन बालेन टिमबाट विशेष सूत्रको भूमिका खेलेका थिए । त्यतिबेला बालेन टिमबाट सुनिल लम्साललाई महामन्त्री र भूपदेवलाई सहमहामन्त्री बनाउने सहमति भएको थियो ।

तर, रूपन्देही–१, बाट निर्वाचित लम्साल भौतिक पूर्वाधार तथा यातायतमन्त्री बनेपछि महामन्त्रीको जिम्मा भने भूपदेवको काँधमा आएको छ । यसअघि, प्रधानमन्त्री बालेनले महानगरकै ‘कोर टिम’लाई प्रधानमन्त्रीको सचिवालयमा समेट्दा भूपदेव मात्रै छुटेका थिए ।