images
images

दोलखामा ८ वटा स्थानीय तहको नतिजा सार्वजनिक, विगुको मतगणना अन्तिम चरणमा

  • ६ जेष्ठ २०७९, शुक्रबार ०८:००

जिरी (दोलखा) । दोलखामा ८ वटा स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लामा ९ वटा स्थानीय तह रहेकोमा २ नगरपालिका र ६ गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । भीमेश्वर नगरपालिकाको अन्तिम मत परिणाम आज विहान सार्वजनिक भएसँगै स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ८ वटा पालिकाको नतिजा आइसकेको छ । जसमा नगरप्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष/उपाध्यक्षमा विजयी भएकाहरुको समेत अन्तिम परिणाम आएको हो । स्थानीय तह निर्वाचन अन्तर्गत दोलखामा अब विगु गाउँपालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी रहेको छ ।

विगु गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । अहिले विगु ७ विगुको मतगणना भइरहेको छ । केहीबेर अघि सम्म विगु ७ मा ९ सय मत गणना हुँदा गठबन्धनबाट माओवादीका अध्यक्षका उम्मेदवार बनेका सञ्जिव ओलीले ३ सय मत प्राप्त गरेका छन् भने एमालेका अचुतम केसीले २ सय २१ मत ल्याएका छन् । यसअघिदेखिनै अग्रता लिइरहेका ओलीको वडा ७ मा पनि अग्रता कायमै रहेको देखिन्छ ।

यसैगरी वडा ७ को ९ सय गणनामा नेपाली कांग्रेका उपाध्यक्षका उम्मेदवार अंगिमा शेर्पाले ५ सय ४७ मत पाउँदा एमालेकी देवीका थामीले २ सय ६ मत पाएकी छन् । अब विगु ८ को मत गणना बाँकी रहेको छ । वडा नम्बर ८ को मत गणना पछि विगुको अन्तिम नतिजा सार्वजनिक हुनेछ ।