
जिरी (दोलखा) । नेपाल सरकारले जेठ १ गतेदेखि लागु हुने गरी सातामा दुई दिन बिदा दिने निर्णय गरेपनि दोलखाको जिरी नगरपालिकामा भने तत्कालका लागि लागु नहुने भएको छ ।
जिरी नगरपालिकाको शिक्षा शाखाले आज सुचना जारी गर्दै तत्कालका लागि सातामा दुई दिन बिदा हुने निर्णय लागु नहुने जानकारी गराएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको बैशाख १९ गते प्रकाशित सुचना बमोजिम जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय भएको थियो । तर, जिरी नगरपालिकाभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु अर्को सुचना जारी नभएसम्मका लागि साविक बमोजिम नै शनिवार बाहेक सातामा ६ दिन पठनपाठन हुने नगरपालिकाका शिक्षा शाखाका प्रमुख लक्ष्मीप्रसाद रिजालद्धारा हस्तक्षरित जारी विज्ञप्तीमा भनिएको छ ।
यो सँगै जिरी नगरपालिकामा आइतबार पनि विद्यालय खुल्ने भएको छ । यसअघि सरकारले जेठ १ गतेदेखि लागु हुने गरी सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेको थियो ।