दोलखा । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ४ मा निर्वाचित वडाध्यक्षलाई विवादमा तान्ने प्रयास भएको छ ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनि सहमतिमै रुख चिन्ह लिएर वडाध्यक्षमा निर्वाचित तारानाथ चौँलागाईलाई विवादमा तान्ने प्रयास भएको हो । नवनिर्वाचित वडाध्यक्ष चौँलागाईलाई नेपाली कांग्रेसले जिल्ला पार्टी कार्यालयमा स्वागत गर्दै सामाजिक सञ्जालमा फोटो पोष्ट गरेपछि उनि विवादमा तानिएका हुन् । कांग्रेस जिल्ला कार्यालयमा स्वागतपछि पार्टी जिल्ला सभापति बर्मा लामाले ‘भीमेश्वर ४ मा निर्वाचित नेपाली कांग्रेसका वडाध्यक्ष तारानाथ चौलागाईलाई बधाई तथा कार्यलयमा स्वागत गर्दछौँ’ भनेर फेसबुकमा पोष्ट गरेपछि त्यसलगत्तै चौँलागाई माओवादीको कि कांग्रेसको भन्ने विवाद सुरु भएको छ ।
कांग्रेस जिल्ला सभापति लामाले चौँलागाईलाई नेपाली कांग्रेसको वडाध्यक्ष भनेपनि चौँलागाईले त्यसको खण्डन गरेका छन् । हामिसँगको कुराकानीमा वडाध्यक्ष चौँलागाईले आफु माओवादी केन्द्रमै रहेको र पार्टीको सहमति बमोजिम रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएको बताएका छन् । वडाध्यक्ष चौंलागाईले चुनावी तालमेलका कारण कांग्रेसको रुख चिन्ह लिएर चुनाव लडेपनि आफु माओवादी पार्टीमा रहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । चौँलागाई लामो समयदेखि माओवादी केन्द्रको राजनीतिमा सक्रिय छन् ।
स्थानीय तहको आसन्न निर्वाचनमा दोलखामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो । जिल्लास्तरीय नेताहरुबीच वडातहमा एउटै चुनाव चिन्ह लिएर उठ्ने सहमति भएपछि चौँलागाई पनि रुख चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका थिए ।










