जिरी (दोलखा) । दोलखामा ९ वटै स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेकोमा सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । विगु गाउँपालिकाको अन्तिम मत परिणाम आज बेलुकी सार्वजनिक भएसँगै जिल्लाको मतगणना सकिएको छ । जसमा नगरप्रमुख, उपप्रमुख तथा पालिका अध्यक्ष/उपाध्यक्षमा विजयी भएकाहरुको समेत अन्तिम परिणाम आएको हो ।
भर्खरै सार्वजनिक भएको विगु गाउँपालिकाको नतिजा अनुसार विगुमा माओवादी केन्द्रका उम्मेदवार संजिव ओली पालिका अध्यक्षमा विजयी भएका छन् । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार बनेका अचुतम केसीलाई पराजित गर्दै ओली पालिका अध्यक्ष बनेका हुन् । विगु गाउँपालिकाका उपाध्यक्षमा भने एमालेकी देवीका थामी विजयी भएकी छिन् । उनी गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवार बनेका अंगिमा शेर्पालाई पराजित गर्दै विगुको उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
आज विहान नतिजा सार्वजनिक भएको भीमेश्वर नगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका इश्वर नारायण मानन्धर नगरप्रमुख बनेका छन् भने एमालेकी कमला बस्नेत पुनः भीमेश्वर नगरकी उपप्रमुख बनेकी छन् ।
जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी ९ वटा स्थानीय तह रहेकोमा सबै पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको हो । जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३, एमालेले २ र एकीकृत समाजवादीले एक स्थानमा पालिका प्रमुख तथा अध्यक्ष जितेका छन् । यस्तै, एमालेले ५, कांग्रेसले ३ र माओवादीले एक पालिकामा उपप्रमुख तथा उपाध्यक्ष जितेका छन् ।
जिरी नगरपालिकामा नगर प्रमुख र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । मित्र जिरेल जिरी नगरपालिकाका प्रमुख बन्दा एमालेकी कृष्ण माया बुढाथोकी उपप्रमुखमा विजयी भएकी छिन् । भीमेश्वर नगरपालिका र जिरी गरपालिकामा निर्वाचित उपप्रमुखले यसअघि एक कार्यकाल काम गरी सकेका छन् । उनीहरु पुनः सोही स्थानका उपप्रमुख बनेका हुन् । यसैगरी, बैतेश्वर गाउँपालिकामा कांग्रेसका छवि लामा पालिका अध्यक्ष बनेका छन् । उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार कल्पना उप्रेती निर्वाचित भएकी छन् । मेलुङ गाउँपालिकामा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । एमालेका उम्मेदवार हिरा थोकर पालिका अध्यक्ष बन्दा एमालेकी गायत्री आचार्य उपाध्यक्ष बनेकी छिन् ।
गौरीशंकर गाउँपालिकामा गठबन्धका उम्मेदवारले पालिका अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा माओवादी केन्द्रका विश्वास कार्की गौरीशंकर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । गौरीशंकरमा उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका श्यामशुन्दर तामाङ पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी, शैलुङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार रिमालबाबु श्रेष्ठ पालिका अध्यक्ष बनेका छन् भने उपाध्यक्षमा एमालेकी पार्वती कार्की विजयी भएकी छन् । कालिञ्चोक गाउँपालिकामा पनि पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी पालिका अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् । तामाकोशी गाउँपालिकामा गठबन्धनले अध्यक्ष र उपाध्यक्षनै जितेको छ । जसमा पालिका अध्यक्षमा एकीकृत समाजवादीबाट प्रोणप्रताप केसी निर्वाचित भएका छन् भने उपाध्यक्षमा कांग्रेसकी सिर्जना सुवेदी चयन भएकी छिन् ।
जिल्लामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ३/३, एमालेले २ र एकीकृत समाजवादीले एक स्थानमा पालिका प्रमुख तथा अध्यक्ष जितेका छन् । यस्तै, एमालेले ५, कांग्रेसले ३ र माओवादीले एक पालिकामा उपप्रमुख तथा उपाध्यक्ष जितेका छन् ।










