काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज चौँथो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ ।
प्रधानमन्त्री प्रचण्डले विपक्षी दलको नाराबाजीका बीच पनि आज विश्वासको मत प्राप्त गर्नुुभएको हो । प्रतिनिधिसभामा १ सय ५८ जना सांसदहरु उपस्थित भएकोमा विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १ सय ५७ मत परेको छ भने प्रस्तावको विपक्षमा शून्य मत परेको छ । विपक्षमा शून्य मत हुँदा सत्ता पक्षका नेकपा एकीकृत समाजवादी पार्टीका प्रकाश ज्वाला, नाउपाका गंगाराम चौधरी र नेकपा एमालेका वसन्त नेम्वाङ अनुपस्थित भएका थिए । यस्तै एक मत तटस्थमा परेको छ । उहाँले संविधानको धारा एक सय को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्नुभएको हो । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले पुन विश्वासको मत लिनु परेको हो ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानविन समिति माग गर्दै कांग्रेसले आज पनि संसद अवरुद्ध गरेको थियो । तर पनि प्रधानमन्त्रीले विश्वासको मत लिनुभएको थियो । विपक्षी दलहरुले वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव गर्नुभएको थियो । नाराबाजीको बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोल्नुभएको थियो । त्यसपछि जवाफ दिने रोष्ट्रममा उपस्थित भएका प्रधानमन्त्रीले वेल घेराउ गरिएका कांग्रेस सांसदहरुप्रति आक्रोश व्यक्त गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको छ । नेपाली कांग्रेसको नाराबाजीको प्रधानमन्त्रीले विश्वासको मत लिएपछि भोली बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरिएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिने बाहेकको बाँकी आज कार्यसूची हटाएर सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्नुभएको हो ।