दोलखा । दोलखामा पछिल्लो समय सम्वन्ध बिच्छेद (डिभोर्स) गर्नेहरुको सँख्या अत्यधिक बढेको छ ।
पति–पत्नी वीच असमझदारी र बेमेल बढ्दै गएका कारण सम्वन्ध बिच्छेद गर्नेहरुको सँख्या पनि दिन प्रति दिन बढ्दै गएको हो । दोलखा जिल्ला अदालतका अनुसार विगत तीन आर्थिक बर्ष यता दोलखामा मात्रै ५ सय १५ जनाले सम्वन्ध विच्छेद गराएका छन् । अदालत मार्फत सम्वन्ध बिच्छेद गराउनेमा ३ सय ७७ महिला र १ सय ३८ पुरुष रहेका छन् । सम्वन्ध बिच्छेद गर्नेहरुमा पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको छ ।
दोलखा जिल्ला अदालतका श्रेष्तेदार अन्जन भट्टराईका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मको अवधिमा ५ सय १५ जनाले सम्वन्ध बिच्छेद गराएका छन् । जस अनुसार आर्थिक वर्ष २०७८/०७९ मा १ सय ८५, २०७९/०८० मा १ सय ८१ र चालु आर्थिक बर्षको हालसम्मको अवधिमा १ सय ४९ जनाले अदालत मार्फत सम्वन्ध बिच्छेद गराएका हुन् ।
आर्थिक बर्ष २०७८/०७९ मा १३१ महिला र ५४ पुरुष, २०७९/०८० मा १३५ महिला र ४६ पुरुष तथा चालु आर्थिक वर्षमा १११ महिला र ३८ पुरुषले सम्वन्ध बिच्छेद गरेका छन् । श्रेष्तेदार भट्टराईका अनुसार बहुविवाह, जवरजस्ती करणी, अंश सम्वन्धी विवाद, कुटपिट, वैदेशिक रोजगारी, घरेलु तथा लैंगिक हिंसा आदीका कारण महिलाहरु सम्वन्ध बिच्छेदकालागि अदालत आउने गरेका छन् । यस्तै, श्रीमतीको परपुरुषसँग सम्वन्ध रहेको, वैदेशिक रोजगारीका कारण सम्वन्ध बिग्रिएको, अनुशासनहिन काम गरेको लगायतका कारण देखाउँदै पुरुषले सम्वन्ध बिच्छेदको मुद्धा दर्ता गराउने गरेका छन् । सम्वन्ध बिच्छेदको मुद्धा लिएर पति–पत्नीलाई अदालतले मेलमिलाप केन्द्र मार्फत मिलाउने प्रयास गर्ने र नमिलेको खण्डमा कानुन वमोजिम सम्वन्ध बिच्छेद गराउने गरेको छ ।
मुलुकी देवानी संहिता ऐन २०७४ अनुसार पत्नीले पतिको मञ्जुरी विना लगातार तीन वर्ष वा सोभन्दा बढी समय अलग बसेमा, पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरवाट निकाला गरि दिएमा, अन्य पुरुषसँग यौन सम्वन्ध राखेको ठहर भएमा तथा पत्नीले पतिको अङ्ग भङ्ग हुने वा शारीरिक वा मानसिक कष्ट हुने कुनै काम वा जाल प्रपञ्च गरेमा पतिले सम्वन्ध बिच्छेद गर्न सक्ने व्यवस्था छ । यस्तै, मञ्जुरी विना पति तीन वर्ष वा सोभन्दा बढी समय अलग बसेमा, अङ्ग भङ्ग हुने वा शारीरिक वा मानसिक कष्ट हुने कुनै काम वा जाल प्रपञ्च गरेमा, पतिले अर्को विवहा गरेमा, अन्य महिलासँग यौन सम्वन्ध राखेको ठहरेमा वा जवरजस्ती करणी गरेमा पत्नीले सम्वन्ध बिच्छेद गर्न सक्ने कानुनी व्यवस्था छ । सम्वन्ध बिच्छेद गर्न चाहने पति, पत्नीले सम्वन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ ।
खासगरी वैदेशिक रोजगारीका कारण लामो समय पति, पत्नी अलग हुने र उनीहरु वीचको सम्वन्धमा दरार आउने गरेका कारण सम्वन्ध बिच्छेदको सँख्या बर्षेनी बढ्दै गएको छ । कतिपय महिलाहरुले पतिवाट यातना पाएको, पालनपोषण नगरेको र हिंसा गरेका कारण पनि सम्वन्ध बिच्छेदको निवदेन दिने गरेका छन् । पर पुरुष तथा पर स्त्रीसँगको अवैध सम्वन्ध पनि पति, पत्नी वीच सम्वन्ध बिच्छेद हुनुको प्रमुख कारण मध्ये एक रहेको छ ।



सुमित्रा थामी 






