
दोलखा । खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना सहित १२ वटा आयोजनामा दोस्रो पटक आशयपत्र (एक्सप्रेसन अफ ईन्ट्रेस्ट – ईओआई) माग गरिएको छ ।
गत बैशाखमा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनका क्रममा सोकेश गरिएपनि लगानी नपरेपछि खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना सहित १२ आयोजनामा पुनः आशयपत्र माग गरिएको हो । यो सँगै धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदुरपश्चिम सार्वजनिक यातायात, पोखरा अन्तराष्ट्रिय सम्मेलन केन्द्र लगाएतका लागि पनि दोस्रो पटक ईओआई माग भएको लगानी बोर्डले जनाएको छ । लगानी बोर्डको कार्यालयले लगानी सम्मेलनका क्रममा १२ वटा आयोजनामा ईओआई माग गरेपनि लगानीकर्ताले ईच्छा देखाएका थिएनन् । सम्मेलन सकिएपछि १ महिनाको समयसीमा राखेर नयाँ आशयपत्र आह्वान गरिएपनि लगानीकर्ताहरुको पर्याप्त ईच्छा नदेखिएपछि पुनः एक महिनाको समय थप गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । विश्वभरका ८० देशका २ हजार लगानीकर्ताको सहभागिता भनिएको सम्मेलनमा निजि क्षेत्रसँग सम्बन्धित आयोजनामा मात्रै लगानीको सम्झौता भएको थियो ।
काठमाडौँमा गत बैशाख १६ र १७ गते भएको तेस्रो लगानी सम्मेलनमा खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना सहित १२ आयोजनामा आशयपत्र माग गरिएको थियो । एक दर्जन आयोजनामा वैदेशिक लगानीको आशयपत्र माग गरिँदा खिम्ती ठोसे शिवालय जलाशययुक्त आयोजना नवौँ नम्वरमा परेको थियो । १२ सय १६ मेगावटको यो आयोजना रामेछाप र दोलखा जिल्लाको सिमाना भएर बग्ने खिम्ती खोलामा बाँध बनाएर निर्माण गर्ने तयारी रहेको छ । विद्युत विकास विभागले सम्भाव्यता अध्ययन गरिरहेको आयोजना निर्माणका लागि २ खर्व ८९ अर्ब ७७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।