
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिती कम भएको भन्दै असन्तुष्टी जनाउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफुले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिती कम भएको गुनासो गर्नुभएको हो । सदनमा प्रधानमन्त्री बोल्दा सबै सांसद उपस्थित हुने परम्परा रहेको भन्दै उहाँले सांसदहरुको ध्यानाकर्षण गराउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले संसदमा धेरै सांसद अनुपस्थित हुनुले प्रधानमन्त्रीको अवमुल्यन तर्फ संकेत गर्ने प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री प्रचण्डले सांसदहरु अनुपस्थित भएर प्रधानमन्त्रीलाई भन्दा पनि आफुले आफैलाई अवमुल्यन गरेको ठहर हुने बताउनुभयो ।
राष्ट्रको सर्वाेपरि हित हुनेगरि राजदुत नियुक्ती
आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम रहेकोमा ११ सांसदले प्रश्न सोधेका थिए । प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै नेपालको संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वाेपरि हित हुनेगरि राजदुत नियुक्ती हुने बताउनुभयो । राजदुतहरुको नियुक्तीलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवम कार्यसम्पादनमा आधारित बनाईएको उहाँको भनाई छ ।
प्रधानमन्त्रीको निर्देशनमा गम्भीर बनेनन् मन्त्री
प्रधानमन्त्री प्रचण्डले आफुले भन्दा भन्दै पनि साना आयोजनाहरु बजेटमा परेको भन्दै असतुष्टी जनाउनुभएको छ । आफ्नो निर्देशनलाई मन्त्रीहरुले गम्भिरतापुर्वक नलिएको भन्दै उहाँले बजेट जे भएको छ त्यो ठिक भएको छ भन्ने पक्षमा आफु नरहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ३ करोड भन्दा कम बजेट विनियोजन भएका योजनाहरु सँघले कार्यान्वयन नगर्ने भन्दै प्रदेश र स्थानीय तहबाटै कार्यान्वयनमा लैजाने व्यवस्था गरिने बताउनुभयो ।
सहकारी पीडितलाई ७७ करोड बचत फिर्ता
साथै उहाँले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत फिर्ता गराईसकेको पनि जानकारी गराउनुभएको छ । सहकारी क्षेत्रमा देखिएको समस्याबारे सरकार गम्भीर र जानकार रहेको भन्दै उहाँले समस्या ग्रस्त तीन वटा सहकारीको रकम फिर्ता गराईसकेको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे पनि संसदलाई जानकारी गराउनुभएको छ । केही दिन अघि भएको आफ्नो भारत भ्रमणमा कुनै एजेण्डा विशेष छलफल नभएको उहाँले संसदलाई जानकारी दिनुभयो ।