images
images

जिरीमा विपद् जोखिमको तयारी थालियो, नगरको कोषमा १९ लाख बजेट

जिरी(दोलखा) । दोलखाको जिरी नगरपालिकामा विपद् व्यवस्थापनको तयारी थालिएको छ ।

मनसुन सुरु भएसँगै नगरपालिकाभित्र हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै व्यवस्थापनको तयारी थालिएकोे हो । आज मात्रै जिरी नगरपालिकाको आयोजनामा जनप्रतिनिधि, जिरीका राजनीतिक दलका शीर्ष नेताहरु र सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मी लगायतको सहभागीतामा पूर्व तयारी स्वरुप पहिलो चरणको बैठक बसी छलफल गरिएको छ । बैठकमा यो वर्षको मनसुनमा जिरीमा हुन सक्ने जनधनको क्षतिबाट जोगिन तथा जोगाउन कसरी तयारी अवस्थामा रहने भन्ने बारेमा छलफल भएको थियो ।

विशेषगरी वर्षायाममा बाढी पहिरोले बस्तीनै जोखिममा पर्ने, गाउँबस्तीनै पुरेर जनधनको क्षति हुने जोखिम रहन्छ । यस्तो अवस्थामा नगरपालिकाको साथमा जिरीका राजनीतिक दल, नेपाल प्रहरी, नेपाली सेना, स्थानीय युवाहरु तयारी अवस्थामा रहने भएका छन् । नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने र भएको सामाग्रीलाई पनि तयारी अवस्थामा राख्ने जनाएको छ । बैठकमा राजनीतिक दलका नेताहरुले आवश्यक सल्लाह र सुझाव दिएका थिए ।

नेपाली कांग्रेस जिरी नगरसमितिका सभापति सोनाम शेर्पाले विपद्को बेला वडास्तरबाटै समाधानको सुरुवात हुनुपर्ने भएपनि बजेट नभएको भन्दै वडाबाट सामान्य समस्याको समेत समाधान नहुने गरेको बताउनुभयो । उहाँले नगरले उद्धारका लागि आवश्यक सामाग्री र जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने, विपद् व्यवस्थापन कोषमा राखिएको बजेट आवश्यकता अनुसार बढी जोखिम र क्षति भएको स्थानमा आवश्यकता अनुसार खर्च गर्नुपर्ने र जोखिमस्थलको पहिचान गरी पूर्व तयारी थाल्नुपर्ने बताउनुभयो ।

नगरपालिकाले विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री खरिद गर्ने र भएको सामाग्रीलाई पनि तयारी अवस्थामा राख्ने जनाएको छ । बैठकमा राजनीतिक दलका नेताहरुले आवश्यक सल्लाह र सुझाव दिएका थिए । बैठकमा यो वर्षको मनसुनमा जिरीमा हुन सक्ने जनधनको क्षतिबाट जोगिन तथा जोगाउन कसरी तयारी अवस्थामा रहने भन्ने बारेमा छलफल भएको थियो ।

यसैगरी, एमाले जिरी नगरकमिटीका अध्यक्ष टपिन्द्र खड्का र एकीकृत समाजवादी जिरी नगरकमिटीका अध्यक्ष मोहन खड्काले पनि जोखिम बस्तीलाई स्थानान्तरण गर्नुपर्ने, वर्षामा कम्तीमा पनि एम्बुलेन्स चलाउँदा बाटो अवरुद्ध नहुने व्यवस्था मिलाउनुपर्ने र सबै वडाको जोखिमयुक्तबस्ती हेरी सोही अनुसारको तयारी गर्न नगरलाई आवश्यक सुझाव दिनुभएको छ ।

सो क्रममा नगरप्रमुख मित्र बहादुर जिरेलले नगरपालिकामा विपद्मा आइपर्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले एम्बुलेन्स लगायतका सवारी साधन, स्वास्थ्यकर्मी, सवारी चालक, दमकल लगायतका सामाग्रीहरु, तयारी अवस्थामा राखिने र आवश्यक थप उपकरणहरु तत्कालै खरिद गरिने बताउनुभयो । उहाँले विपद्बाट जिरीको जनधनको क्षति हुनबाट जोगाउन नगरले सबै राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय युवाहरुबाट सहयोगको अपेक्षा गरेको भन्दै त्यसमा सबैले साथ दिनुपर्ने बताउनुभयो । उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले पनि विपत्तीसँग लड्न नगरले व्यवस्थापन गर्नुपर्ने आधारभूत सामाग्रीको व्यवस्थापन तयारी अवस्थामा राखिने बताउनुभयो ।

जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरको विपद् व्यवस्थापन कोषमा हाल १९ लाख बजेट रहेको छ । आइपर्ने जुनसुकै विपद्को घटनामा सो रकम खर्च गर्न सकिने उहाँले बताउनुभयो । बैठकले नगरपालिकाका प्रशासन शाखा प्रमुख मान बहादुर जिरेलको संयोजकत्वमा ९ सदस्यीय विपद् व्यवस्थापन समिति गठन गरेको छ । सो समितिमा सुरक्षाकर्मी, उद्योग वाणिज्य संघ, युवा सञ्जाल, सञ्चारकर्मी समेतको प्रतिनिधित्व रहेको छ ।

यसैबीच, कार्यक्रममा डेंगु संक्रमणको विषयमा समेत छलफल भएको छ । देशका अधिकांश जिल्लाहरुमा हाल फैलिरहेको डेंगु संक्रमणको जोखिमबाट बच्न पनि जिरीमा सर्तकर्ता अपनाउन जरुरी रहेको जिरी अस्पतालका डा.राजु गुरुङले सुझाव दिनुभयो । उहाँका जिरीमा पनि केही समयअघि एक जनामा डेंगु पुष्टि भएको थियो ।