बागमती प्रदेशका १ सय १९ पालिकामध्ये अझै ३३ पालिकाले बजेट विवरण पेश नगरेको पाइएको छ ।
बागमती प्रदेशका १३ जिल्लामा रहेको १ सय १९ पालिकामध्ये अझै ३३ पालिकाले बजेट पेश गरेका छैनन् । हालसम्म ८६ वटा पालिकाले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । बागमतीमा ७२ दशमलव ९ प्रतिशत स्थानीय तहले बजेट पेश गर्दा अझै २७ दशमलव ७ प्रतिशतले बजेट पेश गर्न बाँकी रहेको देखिन्छ । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा बागमती प्रदेश सहित अन्य प्रदेशको पनि धेरै पालिकाले अहिलेसम्म विवरण नबुझाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म देशभरका २ सय २ वटा पालिकाले अझै बजेट पेस गरेका छैनन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा ९६० मा नगर/गाउँसभाले असार मसान्तसम्म आगामी आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।










