काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा आशंका व्यक्त गर्नुभएको छ ।
४२ औँ बिपी स्मृति दिवसको सन्दर्भमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षपछि आफ्नो पार्टीलाई सरकार हस्तान्तरण गर्नेमा संसय रहेको टिप्पणी गर्नुभएको हो । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई पार्टीबीच पहिलो चरणमा दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी बनेको खुलासा गर्दै महामन्त्री थापाले सहमति पालना हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।
संसदमा ताली ठोक्दा समेत हुने हो की नहुने हो ? भन्ने अविश्वास पैदा हुने गरेको उहाँको भनाई छ । आँफुहरुबाट सहमतिमा केही तलमाथि नहुने दावि गर्दै महामन्त्री थापाले एमालेबाट पनि सोही अपेक्षा राखिएको बताउनुभयो । प्रमुख नेताहरुबीच एकअर्कालाई ढाँट्ने र छल्ने प्रवृत्ति बढेको भन्दै उहाँले यो पटक पनि नेताहरुप्रतिको विश्वासनीयता नै परीक्षामा रहेको तर्क गर्नुभयो ।
साथै उहाँले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति प्रधानमन्त्री ओलीले सदनमा पढेर सुनाउनुपर्ने बताउनुभयो । महामन्त्री थापाले सरकारले सुशासन स्थापना गरि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग पनि संवाद गर्नुपर्ने धारणा राख्नुभयो ।