images
images

भोली प्रधानमन्त्रीले विश्वासको मत लिँदै, कांग्रेसमा शंकाको पहाड चुलिँदै

काठमाडौं । सत्ता साझेदार दलमा अहिलेनै आशंका पैदा भएको छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कांग्रेसले आशंका व्यक्त गर्न थालेको हो ।

भोली प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसका दुई जना महामन्त्रीले आज ओलीप्रति लक्षित गर्दै दुई फरक धारणा सार्वजनिक गरेका छन् । महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा विगतमा उठेका मुद्दामा कांग्रेस मौन नबस्ने बताउनुभएको छ । आज काठमाडौंमा एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महामन्त्री शर्माले काँग्रेसका सांसदहरू उभिएर विश्वासको मत दिएकै कारण विगतमा उठेका प्रश्नलाई लुकाउने प्रयत्नमा काँग्रेस नलाग्ने बताउनुभयो । उहाँले सरकारले गर्ने कमजोरीमा आफूहरू मौन नबस्ने पनि दाबी गर्नुभयो ।

यस्तै, अर्का महामन्त्री गगन कुमार थापाले सहमतिमा धोकाधडी हुँदैन भनेर प्रधानमन्त्रीले संसदमै भन्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसका महामन्त्री थापाले प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नेमा आशंका व्यक्त गर्दै यस्तो बताउनुभएको हो । कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार हाल एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई पार्टीबीच पहिलो चरणमा दुई वर्षसम्म नेकपा एमालेका अध्यक्ष ओली र त्यसपछि आफ्नो पार्टीका सभापतिको नेतृत्वमा सरकार बन्ने समझदारी बनेको खुलासा गर्दै महामन्त्री थापाले सहमति पालना हुनेमा आशंका व्यक्त गर्नुभएको हो ।

संसदमा ताली ठोक्दा समेत हुने हो की नहुने हो ? भन्ने अविश्वास पैदा हुने गरेको उहाँको भनाई छ । उहाँले कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमति प्रधानमन्त्री ओलीले सदनमा पढेर सुनाउनुपर्ने बताउनुभयो । महामन्त्री थापाले सरकारले सुशासन स्थापना गरि आवश्यक ठाउँमा संविधान पुनरावलोकन गर्न माओवादीसँग पनि संवाद गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले भोलि दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदैहुनुहुनछ । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।