नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी टुङग्याएको छ ।
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ । आज बसेको स्थायी समिति बैठकमा उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो । अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार पार्टीको राष्ट्रिय महाधिवेशन र गत केन्द्रिय समितिद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै प्रचण्डले बैठकमा पेश गरेको पार्टी पदाधिकारीको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो । अध्यक्ष प्रचण्डले बैठकमा पार्टीको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिवमा देव गुरुङको नाम प्रस्ताव पेश गर्नुभएको थियो ।
यस्तै, उपमहासचिवमा गिरिराजमणि पोख्रेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुषाल, जनार्दन शर्मा, शक्ति बस्नेत र मातृकाप्रसाद यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लीलामणि पोख्रेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र सुरेन्द्र कार्की र कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको थियो । प्रस्तावित सबै जना नेताहरुको नाम सर्वसम्मतिले पारित भएको हो । बैठकले १२५ जनाको पोलिटब्युरो बनाउने निर्णय समेत गरेको छ ।










