images
images

विदेशी बैंकमा रहेको रकम स्वदेश फर्किएको ३५ दिनभित्र ल्याईसक्नुपर्ने

  • ४ भाद्र २०८१, मंगलवार १४:३५

काठमाडौँ । नेपालीले विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र स्वदेशमै ल्याउनुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश फर्किएको ३५ दिनभित्र ल्याईसक्नुपर्ने जनाएको हो । नेपाली नागरिकले विदेशमा रहँदा बस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने व्यवस्था भएपनि स्वदेश फर्किएपछि भने ३५ दिनभित्र ल्याउनुपर्ने भएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०११ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाईएको छ ।

त्यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउनुपर्ने तथा कायमै राख्न चाहेमा पनि ३५ दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । खाता वा लगानी विदेशमै कायम राख्न चाहेमा त्यस्तो बैंकको नाम, ठेगना, खाता नम्वर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी नेपाल राष्ट्र बैंकमा दिनुपर्ने छ ।