काठमाडौँ । बैंकहरुमा तरलता बढ्न थालेपछि राष्ट्र बैंकले एक वर्षमा ४६ खर्ब ७३ अर्ब रकम उठाएको छ ।
नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा बैंकिङ प्रणालीबाट निक्षेप संकलनको उपकरण प्रयोग गरेर र स्थायी निक्षेप सुविधा (एसडीएफ) मार्फत ४६ खर्ब ७३ अर्ब ६० करोड रुपैयाँ प्रशोचन गरेको हो । जसमध्य निक्षेप संकलनको उपकरण प्रयोग गरेर ११ खर्ब ५१ अर्ब २५ करोड र एसडीएफ मार्फत ३५ खर्ब २२ अर्ब ३५ करोड रुपैयाँ प्रशोचन गरेको राष्ट्र बैंकको तथ्यांक छ ।
बैंकहरुले प्रवाह गर्ने कर्जा निरन्तर संकुचन हुँदा सर्वसाधारणले जम्मा गरेको निक्षेप बैंकहरुमा थुप्रिने गरेको छ । बैंकहरुमा चाहिने भन्दा बढि तरलता हुन थालेपछि व्यवस्थापनमा समस्या हुने भन्दै राष्ट्र बैंकले दुई उपकरण मार्फत धमाधम पैसा खिचेको हो ।
अधिक तरलता भएर व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले गत फागुनदेखि बैंकहरुले सीधै केन्द्रिय बैंकमा निक्षेप राख्न सकिने गरि एसडीएफ सुविधाको सुरुवात गरेको हो । यो सुविधामार्फत हाल बैंकहरुले हरेक साताको आईतबार, बुधबार र बिहिबार सिधै राष्ट्र बैंकमा पैसा राख्न पाउने सुविधा रहेको छ ।