दोलखा । दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले मेलुङ गाउँपालिका ४ भेड्पुको जग्गा भीमेश्वर गुठीको नाममा हालसम्म नापी हुन नसकेको भन्दै यथासिघ्र नापी गर्नका लागि माग गरेको छ ।
गुठी व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गर्दै भीमेश्वर गुठीको जग्गाबाट बुझाउनुपर्ने दैदस्तुरहरु जग्गा कमाउने मोहीहरुले २०४४/४५ सालदेखि नबुझाउँदा मन्दिरको नित्य नैमित्य पूजाआजादेखि गुठी सञ्चालन गर्न समस्या भएको भन्दै गुठीको नाममा यथासिघ्र नापी गर्न माग गरेको हो । समितिका सचिव राजेन्द्रनारायण श्रेष्ठले भीमसेनको नित्य पूजाआजा र वर्षभरीको चाडपर्वहरुमा सञ्चालन हुने गुठीलाई व्यवस्थित गर्न भेड्पु क्षेत्रको जग्गालाई गुठीमा राखी गुठी व्यवस्थापन गरेको भन्दै सोे जग्गाबाट बुझाउनुपर्ने दैदस्तुर नबुझाउँदा समस्या भैरहेको बताउनुभयो ।
समितिले मन्दिरको नित्य पूजाआजादेखि गुठी सञ्चालन गर्न, पाटीसत्तल, गरगहना मर्मत गर्न कठिनाई भैरहेको अवस्थामा दोलखाका तीन राजनीतिक दलले प्रधानमन्त्री समक्ष बुझाएको ध्यानाकर्षण पत्रमा बुँदा नम्बर १० मा उल्लेखित बुँदाबारे ध्यानाकर्षण भएको बताएको छ । साक्षात भगवान भीमेश्वरको बारेमा कुनै सम्बोधन नगरी भीमेश्वरको गुठी र नित्य नौमित्य पूजालाई ध्यान नै नदिई एक ढंगले प्रमुख राजनैतिक दलहरुले बुझाएको ज्ञापनपत्रले दुखी तुल्याएको समितिले जनाएको छ ।
२०४४/०४५ सालपछि भेड्पु जग्गाबाट आउने दैदस्तुर रोकिएदेखि हालसम्म पनि कठिन ढंगबाट गुठी सञ्चालन हुँदै आएको र आठ पर्वी पूजा बन्द भएको भन्दै समितिले हालसम्म राज्यका निकायहरुले भीमेश्वरको गुठीलाई कुनै सम्बोधन नगरेको बताएको छ ।
यसअघि दोलखाका तीन राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर १३ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै साविक भेड्पु गाविसको सम्पूर्ण जग्गा गुठीबाट जनताको नाममा दिलाईदिन माग गरेका थिए । दलहरुले साविक भेड्पु गाविसको सम्पूर्ण जग्गा जमिनहरु जनताले आफ्नो स्वामित्वमा भएर भोग चलन गरिरहे पनि हालसम्म जग्गाधनी पूर्जा प्राप्त गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।