images
images

कक्षा १२ को नतिजा पुनर्योगको माग गर्दै ४० हजार विद्यार्थीले दिए निवेदन

  • ४ भाद्र २०८१, मंगलवार १८:४०

काठमाडौँ । कक्षा १२ को नतिजामा पुनर्याेगका लागि करिव ४० हजार विद्यार्थीको आवेदन परेको छ ।

४० हजार परीक्षार्थीले कक्षा १२ को नतिजामा चित्त नबुझेको भन्दै पुनर्याेगका लागि आवेदन दिएका हुन् । पुनर्याेगका लागि आवेदन दिने विद्यार्थीको संख्या हालसम्मकै बढी भएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १२) ले जनाएको छ ।

अनलाईनबाट पनि आवेदन दिन पाउने सुविधाका कारण पुनर्याेग माग गर्नेको संख्या विगतको तुलनामा बढेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कार्यालयले साउन २२ सम्म आवेदन दिएका ७ हजार विद्यार्थीको भने पुनर्याेगको नतिजा सार्वजनिक गरिसकेको छ । सो नतिजाअनुसार ५५ जनाको नतिजा परिवर्तन भएको छ ।

कार्यालयले नतिजामाथि चित्त नबुझे भदौ १ गतेसम्म अनलाईन आवेदन दिन आह्वान गरेको थियो । कार्यालयले १८ साउनमा प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा सहभागि नियमिततर्फका ३ लाख ८५ हजार ६३२ विद्यार्थीमध्य १ लाख ८१ हजार ७८५ जनाको नतिजा एनजी आएको थियो । पुनर्याेगमा पनि चित्त नबुझेका विद्यार्थीले उत्तरपुस्तिका हेर्नका लागि आवेदन दिन सक्नेछन् ।