images
images

रामेछाप र सिन्धुलीमा भएको छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु

  • ४ भाद्र २०८१, मंगलवार १९:५७

काठमाडौं । रामेछाप र सिन्धुलीमा भएको छुट्टाछुट्टै घटनामा दुई महिलाको मृत्यु भएको छ । रामेछापमा खोलाले बगाएर एक महिलाको र सिन्धुलीमा लडेर एक युवतीको मृत्यु भएको हो ।

रामेछापको मन्थली नगरपालिकामा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । मन्थली नगरपालिका- १० चनखु महादेवटारकी अन्दाजी ४५ वर्षीया लोकमाया श्रेष्ठको स्थानीय बफरे खोलाले बगाएर मृत्यु भएको हो । उनलाई आज बिहान करिव साँढे ९ बजे मन्थली नगरपालिकाकै वडा नम्वर ८ स्थित आफ्नो खेतमा काम गर्न जाने क्रममा दुई वडाको सिमानामा पर्ने बफरे खोलाले बगाएर वेपत्ता बनाएको थियो ।

वेपत्ता श्रेष्ठको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा दिउँसो शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ । उनको सोही खोलाको कल्भर्टमा अड्कीरहेको अवस्थामा शव फेला परेको हो ।

सिन्धुलीमा भीरबाट लडेर युवतीको मृत्यु

सिन्धुलीको मरिण गाउँपालिका –१ की २२ वर्षीया ललिमाया बलको भिरबाट लडेर मृत्यु भएको हो । हिजो साँझ घर नजिकैको जंगलमा भीरबाट लडेर घाईते भएकी उनको आज उपचारका क्रममा मृत्यु भएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक (डिएसपी) अनिलकुमार खड्काले जानकारी दिनुभयो ।

गएराति बेहोस अवस्थामा फेला परेकी बलको ईन्टरनेशनल अस्पताल भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।