images
images

दोलखाका मुख्य बजार क्षेत्रमा धमाधम एफटीटीएच सेवा बिस्तार

  • ४ आश्विन २०७९, मंगलवार ०८:०५

दोलखा । दोलखामा नेपाल टेलिकम अन्र्तगतको नयाँ प्रविधि एफटीटीएच सेवा जिल्लाको मुख्य बजार क्षेत्रमा धमाधम विस्तार हुन थालेको छ ।

नेपाल टेलिकमको एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच सेवा हालसम्म सदरमुकाम चरिकोट र दोलखा बजार क्षेत्रभित्र पुर्ण रुपमा विस्तार भइसकेको हो । यस्तै जिरी बजार, हाटडाँडा क्षेत्र र मैनापोखरी बजारमा पनि अहिले धमाधम विस्तार भइरहेको छ । हालसम्म एफटीटीएच सेवा दोलखाका १३ सय ७१ जना उपभोक्ताको पहुँचमा पुगेको हो । नेपाल टेलिकम दोलखा शाखाका अनुसार सदरमुकाम चरिकोट र दोलखा बजारका ८ सय ४२ जना उपभोक्ताको पहुँचमा एफटीटीएच सेवा पुगेको छ भने मैनापोखरी बजार क्षेत्रका १ सय ७६ जना तथा जिरी र हाटडाँडाका ३ सय ५३ जना उपभोक्ताको पहुँचमा एफटीटीएच सेवा पुगेको छ ।

सिंगटी र गोंगरमा पनि बिस्तार गरिने

चालु आर्थिक वर्षमा सिंगटी बजार र गोंगरमा पनि एफटीटीएच सेवा विस्तार गर्ने योजना रहेको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एफटीटीएच अप्टिकल फाइबर भएको स्थानमा मात्रै जडान गर्न मिल्ने भएकाले अहिले बजार क्षेत्रमा मात्रै जडान भइरहेको हो । नेपाल टेलिकम दोलखा शाखाले २०७७ साल पुसबाट एफटीटीएच जडान सुरु गरेको थियो । हाई स्पिडको इन्टरनेट सेवा सहितको नयाँ प्रविधि एफटिटिएच सदरमुकाम चरिकोटबाट जडान सुरु गरिएकोमा हाल जिल्लाका बजार क्षेत्रमा धमाधम विस्तार भइरहेको छ । एफटीटीएच प्रविधि जडान भएपछि हाइ स्पिडमा इन्टरनेट सेवा चल्न थालेको छ भने डाटामा स्पिड इन्टरनेट र टेलिभिजन हेर्न समेत सहज हुन थालेको छ ।

३ लाख मोवाईल प्रयोगकर्ता

दोलखामा कपर केवलबाट टेलिकमका सेवाहरु सुचारु भइरहेकोमा अहिले अप्टिकल फाइबरबाट सेवा सुचारु भएको हो । अप्टिकल फाइवरमा सिसा हुने भएकाले यो प्रविधिबाट प्रदान गरीने सेवा प्रभावकारी भइरहेको नेपाल टेलिकम दोलखा शाखाको भनाई छ । दोलखामा हाल ४ सय जना ल्याण्ड लाइन फोन प्रयोगकर्ता र तीन लाख मोवाईल प्रयोगकर्ता रहेका छन् । पछिल्लो समय जिल्लामा ल्याण्डलाइन प्रयोगकर्ता घट्दो क्रममा रहेको र मोवाईल प्रयोगकर्ता बढीरहेको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख गिरीले बताउनुभयो । उहाँका अनुसार नेपाल टेलिकम अन्र्तगतका सेवा प्रभावकारी बन्दै गएपछि मोबाईल फोन प्रयोगकर्ता पनि बढेका हुन् ।

यसैबीच दोलखाका सबै स्थानमा फोरजी सेवा विस्तार भइसकेको नेपाल टेलिकम दोलखा शाखाले जनाएको छ । गौरीशंकर गाउँपालिकाको बेदिङ बाहेक अन्य सवै स्थानमा फोरजि सेवा विस्तार भएको हो । दोलखामा नेपाल टेलिकमको २५ वटा टावर रहेकोमा २४ वटा टावरमा फोरजी सेवा जडान गरिसकिएको नेपाल टेलिकम दोलखा शाखाका प्रमुख गिरीले जानकारी दिनुभयो ।