दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर घर्तीको सरुवा भएको छ ।
अधिकृत घर्तीको गौरीशंकर गाउँपालिकाको जिम्मेवारी सम्हालेको ७ महिनापछि सरुवा भएको हो । प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, शिक्षा अधिकृत एबम् सूचना अधिकारी भिमसेन बिष्ट लगायत गाउँपालिकाका कर्मचारीहरुले आज एक कार्यक्रमकाबीच बिदाई गरेका छन् । भदौ अन्तिम साता सरुवा भएका उनको आज बिदाई गरिएको हो । उनको रोल्पाको लुङग्री गाउँपालिकामा सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दोलखाको गौरीशंकर गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत घर्तीले २०८० साल फागुन २ गतेबाट गौरीशंकर गाउँपालिकाको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि गौरीशंकरको प्रमुख प्रशासकीय अधिकृत रहेका पवनकुमार प्याकुरेलको सरुवा भएको दुई महिनापछि घर्तिले जिम्मेवारी सम्हालेका थिए ।
प्याकुरेलको २०८० साल पुस १ गते काभ्रेपलाञ्चोक तेमाल गाउँपालिकामा सरुवा भएको थियो । प्रमुख प्रशासकीय घर्तीको सरुवा भएपनि गाउँपालिकामा आउने नयाँ प्रमुख प्रशासकीय अधिकृतको भने टुंगो नलागेको गाउँपालिकाले जनाएको छ ।