images
images

दोलखामा अलैँचीको मुल्य बढ्यो तर उत्पादन घट्यो

दोलखा । उत्पादनमा ह्रास आएपनि दोलखाका किसानहरुले यो वर्ष अलैँचीको उच्च मुल्य पाएका छन् ।

लामो समय अलैँचीको मुल्य नपाएका किसानले यो पटक प्रतिकिलो ९ सयदेखि १३ सय रुपैँयासम्म मुल्य पाएका हुन् । किसानले पाएको यो मुल्य विगत ५ वर्ष यताकैै उच्च हो । दोलखाको वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदी, मेलुङ गाउँपालिका–१ पवटी, कालिञ्चोक गाउँपालिका–२ बाबरेको सिस्नेरी, बसेरी, धारापानी, निकोभुमे, कालिञ्चोक– ७ र ८ सुनखानी, भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती, सेरावेशीमा अन्य क्षेत्रको तुलनामा बढी अलैँची उत्पादन भएको थियो ।दोलखाका अलैँची किसानले यो वर्ष २५ हजार किलो भन्दा बढी अलैँची उत्पादन गरेको अनुमान छ ।

अलैँची विक्रिबाट साँढे दुई करोड भन्दा बढी रकम जिल्ला भित्रिएको किसानहरुले बताएका छन् । यो वर्ष वैतेश्वर गाउँपालिकाको मिर्गे, काब्रे र गैरीमुदीबाट १५ हजार किलो बढी अलैँची उत्पादन भएको छ । वैतेश्वरका किसानले उत्पादन गरेको अलैँची प्रतिकिलो १ हजारदेखि १३ सय रुपैँयासम्ममा विक्रि गरेका छन् । यस्तै, मेलुङ १ पवटीका अलैँची किसानले पनि यो वर्ष राम्रै भाउ पाएका छन् । पवटीको नेपाल एग्रो टुरिजम प्रालिले मात्रै ४ सय किलो अलैँची विक्रि गरेको स्थानीय कृषक शान्त बहादुर कार्कीले जानकारी दिनुभयो ।

कालिञ्चोक गाउँपालिकाको बाबरे, सिस्नेरी, बसेरी, धारापानी र निकोभुमेका किसानले यो वर्ष एक हजार किलो भन्दा बढीे अलैँची उत्पादन गरी विक्रि गरेका छन् । यो क्षेत्रका किसानले भने प्रतिकिलो ९ सय रुपैँयामा अलैँची विक्रि गरेको बताएका छन् । कालिञ्चोक गाउँपालिका–२ बाबरेका वडाअध्यक्ष हेमबहादुर पाण्डेले यो वर्ष किसानले करिव ६ सय किलो बढी अलैँची उत्पादन गरी विक्रि गरेको जानकारी दिनुभयो । दोलखाको भीमेश्वर नगरपालिका–१ सुष्पाक्षमावती स्थित सुस्पा फेदी, दामाराङ, टारी र बुमाका किसानले यो वर्ष ३ सय किलो बढी अलैँची उत्पादन गरेका छन् । भीमेश्वर नगरपालिकाको सेरावेँशीका किसानले पनि करिव ९ सय किलो अलैँची विक्रि गरेका छन् । यसैगरी कालिञ्चोक गाउँपालिकाको सुनखानीबाट यो वर्ष ७ सय किलो बढी अलैँची उत्पादन भएको छ ।

दोलखाका किसानले यो वर्ष अलैँचीको राम्रो मुल्य पाए पनि उत्पादन घटेको देखिएको छ । किसानले लगाएको अलैँची बगानमा बोट सुक्ने, गानो र जरा कुहिने, फल नलाग्ने, लागेको फल नपाक्ने, पात तथा डाँठमा किरा लाग्ने र बोट मर्ने समस्याले किसानलाई हैरान पारेको छ । जसका कारण दोलखामा वर्षेनी अलैँची उत्पादन घट्दै गएको छ । व्यापारीहरुले दोलखाका किसानले उत्पादन गरेको अलैँची झापाको विर्तामोड र काठमाडौंमा लगेर विक्रि गर्ने गरेका छन् । झापाको विर्तामोडमा प्रतिकिलो १३ सयदेखि १४ सय ५० रुपैँयासम्म र काठमाडौंमा प्रतिकिलो १३ सय ५० रुपैँयासम्ममा अलैँची विक्रि गर्ने गरेको अलैँची विक्रेताहरुले बताएका छन् ।
अलैंची संकलन गरि विक्रि गर्दै आएका वैतेश्वर गाउँपालिकाका सुकमान तमाङले जिल्लामा उत्पादन भएको अलैँची भारत र वंगलादेशसम्म पुग्ने गरेको बताउनुभयो । यो वर्ष अलैँचीको धेरै माग भएकाले मुल्य पनि उच्च भएको हो । गत वर्ष दोलखाका किसानले प्रतिकिलो अलैँचीको मुल्य ४ सयदेखि ५ सयसम्म मात्रै पाएका थिए ।

नेपालमा उत्पादन हुने मसला बालीमध्ये सबैभन्दा बढी मुल्य पर्ने र धेरै निर्यात हुने कृषिबालीको सुचीमा अलैंँची पर्दछ ।अलैँची नेपालबाट निर्यात मात्र हुने तर आयात नगरिने एक मात्र कृषिवस्तु हो । अलैंची व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य अमर तमाङले उत्पादन घटेको र माग बढ्दै गएपछि किसानले अलैँचीको मुल्य पाउन थालेको बताउनुभयो । कृषि ज्ञान केन्द्र रामेछापले भने जिल्लामा उत्पादन भएको अलैँची विक्रिका लागि किसानलाई कुनै सहजीकरण गरेको छैन । कृषि ज्ञान केन्द्र रामेछापका प्रमुख मिन बहादुर पुनले अलैँचीको बजारीकरणका लागि कुनै व्यवस्था नगरिएको बताउनुभयो ।