images
images

दुर्गा प्रसाईँ र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न नदिने, निषेधाज्ञाको तयारी

  • ४ मंसिर २०८०, सोमबार १५:२६

काठमाडौं । मंसिर ७ गते काठमाडौंमा प्रदर्शनको तयारीमा रहेका दुर्गा प्रसाई नेतृत्वको समूह र युवा संघलाई माइतीघर मण्डलामा निषेध गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई माइतीघर मण्डलामा प्रदर्शन गर्न नदिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार माइतीघर मण्डला लाइफलाइन सडक भएको र दमकल, एम्बुलेन्स चल्नु पर्ने भएका कारण सो स्थानमा दुवै समूहलाई कार्यक्रम गर्न नदिने भएको हो । दुवै समूह माइतीघर मण्डलामा आमने–सामने हुने भएपछि झडपको अवस्था निम्तिने भन्दै सो स्थानमा कार्यक्रम गर्न रोक लगाएर निषेधाज्ञा लगाउने तयारी भइरहेको छ ।

नयाँ कार्यक्रमस्थल तोक्नकालागि छलफल भइरहेको काठमाडौं प्रशासनले जनाएको छ । श्रोतका अनुसार युवा संघलाई काठमाडौंको तिनकुने र दुर्गा प्रसाईलाई अर्कै स्थानमा प्रदर्शनका लागि स्थान तोक्ने तयारी छ । मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ देशभरका मानिस काठमाडौंमा उतार्ने तयारी गरेको छ । यस्तै, एमाले निकट युवा संघ नेपालले पनि सोही दिन काठमाडौंमा ठूलो संख्यामा ककार्यकर्ता उतारेर प्रदर्शनको तयारी गरेको छ ।