
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरदेखि बानेश्वर क्षेत्रमा ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला सुरक्षा समिति काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा भएसँगै तोकिएको सो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन ।