images
images

११ किलो सुन प्रकरणः प्रहरी अनुसन्धान सकियो, सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइँदै

  • ४ मंसिर २०८०, सोमबार १९:३७

दोलखा । दोलखा प्रहरीले ११ किलो सुन प्रकरणको अनुसन्धान पूरा गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) समेतको सहयोगमा सुन प्रकरणको अनुसन्धान पूरा गरेको हो । अनुुसन्धान पूरा भएपछि दोलखा प्रहरीले भोली जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने भएको छ । लामाबगरको फलाक नाका हुँदै अवैध रुपमा ११ किलो सुन बरामद भएको करिब डेढ महिनापछि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारेको हो । दोलखाका प्रहरी प्रमुख, नायव उपरिक्षक (डिएसपी) दिपक खड्काले अवैध रुपमा ओसारपसारमा संलग्न उपर संगठित अपराध, भन्सार चोरी पैठारी, नेपाल राष्ट्र बैँक ऐनअनुसार क्रिप्टो कारोबारको कसुर अनुसारको मुद्धा चल्ने गरी अनुसन्धान पूरा गरिएको जानकारी दिनुभयो ।

गत असोज महिनामा दोलखा प्रहरीले जिल्लाको उत्तरी क्षेत्रबाट तीन चरणमा गरी ११ किलो सुन बरामद गरेको थियो भने अबैध सुन ओसापसार प्रकरणमा १५ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा सुन ओसारपसारमा संलग्न भरियादेखि सुन खरिद गर्ने व्यापारी र सुन तस्करी गिरोहका मुख्य नाइके चिनियाँ नागरिकसमेत पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई विभिन्न चरणमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा सुन तस्करीको गिरोहले लामाबगरको फलाक नाका हुँदै ३३ किलो सुन तस्करी गरेको खुलासा भएको छ । सुन तस्करी प्रकरणमा २६ जनाको संलग्नता देखिएको र ११ जना अझै फरार रहेको प्रहरी अनुसन्धानले देखाएको छ ।