हेटौँडा । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बागमती प्रदेश सरकारको पुँजीगत (विकास) खर्च निराशाजनक देखिएको छ ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि पुँजीगततर्फ विनियोजन गरेको बजेटको पहिलो चौमासिकमा ३.५० प्रतिशत मात्रै खर्च गरेको हो । गत साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनामा चालु खर्चतर्फ विनियोजित रकमको १४ दशमलव ६५ प्रतिशत खर्च हुँदा पुँजीगत ११ दशमलब १५ प्रतिशतले कम हो । बागमती प्रदेशमा पुँजीगत खर्च कम हुँदा विकास निर्माणका कामहरु ठप्प देखिएको छ ।
असार लागेपछि बजेट सक्काउने प्रबृत्ति यो पटक पनि दोहोरिने भएको हो । जुनसुकै सरकार आएपनि असारमा बजेट खर्च गर्ने प्रबृत्तिमा परिवर्तन आउन नसकेको हो । प्रदेशमा विकास अड्डाहरुको पुँजीगत खर्च निराशाजनक देखिएको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयमा विनियोजित पुँजीगत बजेटको ४ दशमलब १६ प्रतिशत मात्रै खर्च भएको छ । भौतिक मन्त्रालयको चालू खर्च भने १९.३३ प्रतिशत खर्च भैसकेको छ । भौतिकपछि अर्को विकास अड्डाको रुपमा रहेको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालयको चालुतर्फ २४ दशमलव ५६ प्रतिशत खर्च हुँदा पुँजीगततर्फ २ दशमलव ५२ प्रतिशत मात्रै खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको चालूतर्फ ८ दशमलव ०६ र पुँजीगततर्फ ७ दशमलव ८० प्रतिशत रकम खर्च गरेको छ । यस्तै सामाजिक विकास मन्त्रालयले चालुतर्फ ८ दशमलव ४९ र पुँजीगततर्फ २ दशमलव १९ प्रतिशत, स्वास्थ्य मन्त्रालयले चालुतर्फ १४ दशमलव ५४ र पुँजीगततर्फ २ दशमलव १२ प्रतिशत खर्च गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार वन तथा वातावरण मन्त्रालयले चालुतर्फ १९ दशमलव १८ र पुँजीगततर्फ २ दशमलव ९७ प्रतिशत, युवा तथा खेलकुद मन्त्रालयले चालुतर्फ ५ र पुँजीगततर्फ ८ दशमलव ९१ प्रतिशत खर्च गरेको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकै चालुतर्फ ११ दशमलव १४ र पुँजीगततर्फ ६ दशमलव ३६ प्रतिशत खर्च गरेको छ भने आर्थिक मामिला मन्त्रालयले चालुतर्फ १३ दशमलव ५४ र पुँजीगततर्फ १२ दशमलव ५० प्रतिशत, उद्योग वाणिज्य तथा प्रशासन मन्त्रालयले चालुतर्फ ९ दशमलव ३५ र पुँजीगततर्फ १० दशमलव ३३, श्रम रोजगार तथा यातायात मन्त्रालयले चालुतर्फ १६ दशमलव ५१ प्रतिशत र पुँजीगततर्फ ३ दशमलव ८३ प्रतिशत खर्च गरेको हो ।