images
images

बागमती प्रदेशका उद्योग मन्त्रीको दोलखा यात्रा : उद्घाटनदेखि अन्तरक्रिया र भीमेश्वर दर्शनसम्म

  • ४ पुष २०८०, बुधबार १८:११

दोलखा । बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार दुई दिने दोलखा बसाईपछि फर्किनु भएको छ ।

भीमेश्वर नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटनकालागि दोलखा आउनुभएका मन्त्री जिल्लामा आयोजित बिभिन्न कार्यक्रममा सहभागि भएर आज फर्किनु भएको हो । दोलखा बसाईका क्रममा मन्त्री चित्रकारले विभागीय कार्यालयकोरुपमा रहेको घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण, उद्यमी–व्यवसायीसँगको अन्तरक्रिया देखि स्वागत र बजार अनुगमन समेत गर्न भ्याउनु भएको छ ।

मन्त्री आउने भएपछि घरेलु तथा साना उद्योग कार्यालय दोलखाले मंगलवार आकस्मिकरुपमा उद्यमी, व्यवसायीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो । कार्यालय प्रमुख रामप्रसाद भुषालका अनुसार मन्त्रीको निर्देशनमै आयोजना गरिएको कार्यक्रमको आयोजना गरिएको हो । सो कार्यक्रममा सहभागी उद्यमी, व्यवसायीले आर्थिक मन्दीका बेला भोग्नु परेको ऋण लगायतका समस्याका बारेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री चित्रकारले प्रदेशको औधोगितक नीति र वाणीज्य नीति बन्न बाँकी रहेको र सो नीति बनेपछि उद्योगी, व्यवसायीहरुका समस्या समाधान हुने बताउनुभयो । मंगलवार मन्त्री चित्रकार चरिकोटस्थित होटल एम्ब्रोसियामा बास बस्नुभएको थियो । मन्त्री र सचिवालय टिमको बासको व्यवस्थापन भीमेश्वर नगरपालिकाले गरेको थियो ।

मन्त्री चित्रकारले प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरको दर्शन देखि भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजारस्थित घरेलु कार्यालयका बेवारिसे भौतिक संरचनाको अवलोकन पनि गर्नुभएको छ । आज विहान दोलखा बजार पुग्नुभएका मन्त्री चित्रकारले स्थानीयवासीले चरिकोटमा रहेको घरेलु कार्यालय दोलखा फिर्ता गर्नु पर्ने र भौतिक संरचनाको मर्मत सम्हार गरी उपयोग गर्नु पर्ने माग गरेका थिए । त्यस लगत्तै मन्त्री चित्रकारले दोलखा बजारमा निर्माण भएका संरचनालाई मर्मत सम्हार गरी तालिम केन्द्रकोरुपमा विकास गर्ने वचन दिनुभएको छ ।

दोलखा बजारको भ्रमण अघि नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री चित्रकारलाई कांग्रेस दोलखाको पार्टी कार्यालयमा सभापति बर्मा लामा लागायतका नेताहरुले स्वागत गरेका थिए ।