काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनै तहको निर्वाचनका लागि तयारीमा रहन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री भएपछि आज पहिलो पटक देशवासीका नाममा सम्बोधन गर्दै देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो । उहाँले एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको काँधमा रहेको भन्दै निर्वाचन तयारीका काम गर्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रधावकारी माध्यम रहेको भन्दै ६ महिनाअघि आफुले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको उल्लेख गर्नुभयो । कोभिड रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारबीच समन्वय बनाइएको भन्दै उहाँले अर्थतन्त्र र सामाजिक गतिविधिमा सकेसम्म असर नपर्नेगरी व्यवस्था मिलाइने जानकारी समेत दिनुभयो ।