
काठमाडौं । प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज मतदान हुँदैछ ।
प्रतिनिधि सभाको आज बस्ने बैठकबाट उपसभामुख चयन गर्न लागिएको हो । त्यसका लागि आज दिउँसो १ बजेट बैठक बोलाइएको छ । बैठकमा उपसभामुख निर्वाचित गरियोस् भनन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराएका छन् । रानामगरलाई सत्तारुढ दलको समर्थन छ । उनको प्रस्तावकमा रास्वपाकै सोविता गौतम छिन् भने समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।
मुक्ताकुमारीलाई भने सरकारमा नरहेका दलहरुले समर्थन गरेका छन् । उनको प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखमा भने प्रतिस्पर्धा गरेको छ । यसअघि कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको थियो । तर सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमालेका देवराज घिमिरे सभामुख चयन भएका थिए ।