images
images

उपसभामुखमा सांसद इन्दिरा रानामगर निर्वाचित

  • ७ माघ २०७९, शनिबार १७:३२

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी उपसभामुखमा निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आज बसेको बैठकमा रानाको पक्षमा १ सय ६६ जना सांसदले समर्थन गरेका थिए भने ९७ जना सांसद विपक्षमा उभिएका छन् । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल भने तटस्थमा बसेका छन् । प्रतिनिधिसभामा कुल २ सय ७५ जना सांसद मध्ये २ सय ६४ जना सांसद उपस्थित भएका थिए । बैठकमा सभामुख देवराज घिमिरेले सबैभन्दा पहिले रानाको उम्मेदवारीलाई सभामा निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो ।

मतविभाजनका क्रममा रानाको पक्षमा बहुमत सांसद देखिएपछि उनको प्रतिस्पर्धी नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवको उम्मेदवारीलाई निर्णायार्थ प्रस्तुत गर्नुनपरेको हो । लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशिल रानामगरको राजनितिक यात्रा नयाँ हो । मत मंसिर ४ गतेको निर्वाचनअघि मात्रै रानामगरले राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर राजनिति सुरु गर्नुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले रानामगरलाई समानुपातिकतर्फबाट उम्मेदवार बनाएको थियो ।

सयौं बालबालिकालाई पालनपोष्ण र शिक्षादिक्षा दिएर रानामगरले समाजसेवाको क्षेत्रमा प्रसिद्धि कमाउनुभएको छ । कारागार पुगेका निर्दोष बालबालिकालाई आश्रय तथा शिक्षादिन रानामगर ३३ वर्षदेखि सक्रिय रहेको पाइएको छ । बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष रानाको संस्थाले काठमाडौ., भक्तपुर, झापा लगायतका जिल्लामा १२ वटा बालगृह र दुई वटा विद्यालय सञ्चालन गरिरहेको छ । नेपालमा मात्रै नभएर साहित्य र समाजसेवाको क्षेत्रमा विश्वमै चिनिएकी साहित्यकार पारिजातको प्रेरणाबाट समाजसेवी बनेकी रानामगर उपसभामुख बन्नुभएको हो ।