
हेटौँडा । बागमती प्रदेशको विपद व्यवस्थापनमा १३ करोड भन्दा बढि खर्च भएको छ ।
विपद व्यवस्थापन अन्र्तगत विभिन्न कार्यमा प्रदेश सरकारले जिल्ला विपद कोष र स्थानीय तहको विपद कोषमार्फत १३ करोड २ लाख रुपैयाँ खर्च गरेको हो । प्रदेश सरकारले मनसुनजन्य विपद पूर्वतयारी, खोज उद्धार तथा राहत र पुनःस्थापनाका लागि सो रकम खर्च गरेको छ । गत असोज दोस्रो साता आएको बाढी पहिरोबाट बागमती प्रदेशमा ठुलो जनधनको क्षति भएको थियो । सो विपदका घटनामा बागमती प्रदेशमा १० अर्ब २३ करोड ५६लाख ५४ हजार बराबरको भौतिक क्षति भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
२६ स्थानीय तहलाई ३ करोड ४५ लाख
बागमती प्रदेश सरकारले सरकारको विपद राहत कोष मार्फत मनसुन पूर्वतयारीका लागि २६ स्थानीय तहलाई ३ करोड ४५ लाख रकम उपलव्ध गराएको छ । जसअनुसार दोलखाको विगु, गौरीशंकर र कालिन्चोक गाउँपालिकालाई १५/१५ लाख उपलव्ध गराईएको छ । यसैगरी, सिन्धुलीको दुधौली नगरपालिका र मरिण गाउँपालिका, रामेछापको उमाकुण्ड र काभ्रेको भुम्लु गाउँपालिकालाई १०/१० लाख रुपैयाँ राहत तथा उद्धार रकम उपलब्ध गराईएको मन्त्रालयले जनाएको छ ।
क्षतिको अवस्था अनुसार स्थानीय तहलाई पूर्वतयारीका लागि १० देखि १५ लाख रुपैयाँसम्म उपलव्ध गराईएको हो । सो रकम मनसुन पूर्वतयारीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्र्तगतको विपद कोषबाट सिधै स्थानीय तहमा पठाईएको हो ।
जिल्ला प्रशासन कार्यालयहरूलाई १ करोड ८० लाख
बागमती प्रदेश सरकारले खोज तथा उद्धार कार्यका लागि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत् १३ जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई पनि पहिलो चरणमा १ करोड ८० लाख रकम प्रदान गरेको छ । विपद्बबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन, खोज, उद्धार तथा राहत वितरण लगायतका विषयमा सम्बोधन गर्न प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति र प्रदेश विपद् व्यवस्थापन परिषद्को निर्णय अनुसार सो रकम जिल्ला विपद् कोषमा उपलब्ध गराएको हो ।
त्यसमध्य सबैभन्दा बढी क्षति व्यहोरेको काभ्रेलाई ६० लाख रुपैयाँ उपलब्ध गराइएको छ भने सिन्धुपाल्चोकलाई २० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ । दोलखा, रामेछाप र सिन्धुलीलाई १०/१० लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।
बागमती प्रदेशले ४५ सङ्कटग्रस्त स्थानीय तहलाई कुल ५ करोड ८० लाख रकम प्रदान गरेको छ ।