images
images

सवारी ज्यान मुद्धाका चालकलाई २० दिन र यौन दुराचारीलाई २४ दिन कैद सँजायको फैसला

  • ९ फाल्गुन २०७८, सोमबार १८:५०

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकाका एक सवारी चालकलाई सवारी ज्यान मुद्धामा २० दिन कैद र २ हजार जरिवानाको फैसला भएको छ ।

जिल्ला अदालत दोलखाले तामाकोशी गाउँपालिका वडा नम्बर ७ का सांङगे भनिने संगे शेर्पालाई सवारी ज्यान मुद्धामा २० दिन कैद र २ हजार जरिवानाको फैसला सुनाएको हो । जिल्ला न्यायधीश कविप्रसाद न्यौपानेको इजलासले शेर्पालाई कैद र जरिवानाको फैसला सुनाएको छ । शेर्पालाई सवारी यातायातको व्यवस्था ऐन २०४९ अन्तर्गतको दफा १६१ को उपदफा ३ र ५ बमोजिम अदालतले कसुर ठहर गर्दै जरिवानाको फैसला सुनाएको श्रेष्तेद्धार शिव पोखरेलले जानकारी दिनुभयो ।

२०७७ साल चैत २ गते तामाकोशी गाउँपालिका वडा नम्बर ७ मा ट्रिपरमा काठ लोड गर्ने क्रममा ट्रिपर पछाडि पट्टि गुडेर दुर्घटना हुदाँ वडा नम्बर ७ का सोन लाक्पा शेर्पाको मृत्यु भएको थियो । त्यस लगत्तै पक्राउ परेका शेर्पा माथि प्रहरीले सवारी ज्यान सम्बन्धी मुद्धा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालय मार्फत अदालत पेश गरेकोमा अदालतले उनलाई गत चैत २० गते ७० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटीमा रिहा भएका शेर्पाको मुद्धा आइतबार फैसला भएको हो ।

यसैवीच, बाल यौन दुरुपयोग मुद्धामा पक्राउ परेका भीमेश्वर नगरपालिकाका एक पुरुषलाई अदालतले २४ दिन कैद, जरिवाना र पीडितलाई क्षेतिपुर्ति भराउने फैसला गरेको छ । न्यायधिश कविप्रसाद न्यौपानेको इजलासले आईतबार भीमेश्वर नगरपालिका वडा नम्बर ५ का सुर्यबहादुर बुढाथोकीलाई बाल यौन दुरुपयोग मुद्धामा कसुर ठहर गर्दै २४ दिन कैद, १० हजार जरिवाना र पीडितलाई १० हजार क्षतिपुर्ति भराउने फैसला सुनाएको हो । अदालतको फैसला लगत्तै उनी धरौटी रकम बुझाएर रिहा भएका छन् । बुढाथोकी स्थानिय ८ बर्षिया बालिकालाई यौन दुराचार गरेको आरोपमा गत कात्र्तिक ११ गते पक्राउ परेका थिए ।