
दोलखा । दोलखाको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखिएको विषयमा अध्ययन गर्न गठित समितिले फागुन अन्तिम साता मात्रै प्रतिवेदन बुझाउने भएको छ ।
अध्ययनको काम बाँकी रहेकाले सो समितिले फागुन अन्तिम साता मात्रै प्रतिवेदन बुझाउने भएको हो । कालिञ्चोक गाउँपालिकाले कालिञ्चोक क्षेत्रमा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखेर कुरुप बनाउन थालेको विषयमा अध्ययन गर्न पालिकाका उपाध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । सो समितिलाई जग्गा अतिक्रमण र जथाभावी होर्डिङ बोर्ड राखिएको विषयमा अध्ययन गर्न गत माघ २३ गतेदेखि फागुन ८ गतेसम्म १५ दिनको समय दिइएको थियो । समितिलाई दिइएको समय आईतवार सकिएको छ ।
तर निर्धारित समयमा काम पुरा नभएकाले फागुन अन्तिम साता मात्रै अध्ययन प्रतिवेदन बुझाउने तयारी गरिएको कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष एवम् कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिका संयोजक कुल बहादुर बुढाथोकीले जानकारी दिनुभयो । सो समितिमा पालिकाका उपाध्यक्ष बुढाथोकी, वडा नम्बर १ का वडाध्यक्ष पदम बहादुर थामी, वडा नम्बर ६ का वडाध्यक्ष भरत पाण्डे, वडा नम्बर ९ का वडाध्यक्ष रामप्रसाद मैनाली र गाउँपालिकाको प्रशासन शाखाका एक जना कर्मचारी सदस्य रहेका छन् ।
सो समितिले कुरी क्षेत्रको जग्गा अतिक्रमण, खोला प्रदुषित भएको विषय, जथाभावि विभिन्न कम्पनीका होडिङ बोर्ड राखिएको तथा कुरी क्षेत्रमा सञ्चालन भइरहेका होटल व्यवसाय दर्ता भए नभएको लगायत बजार क्षेत्रको सम्पुर्ण विषयमो अध्ययन गर्नेछ । कुरी बजार क्षेत्रको अध्ययन तथा प्रतिवेदन समितिको प्रतिवेदनका आधारमा त्यस क्षेत्रको विषयमा आवश्यक प्रक्रिया अघि बढाउने गाउँपालिकाको तयारी छ । कालिञ्चोक मन्दिर क्षेत्रमा लामो समयदेखि अवैध रुपमा राखिएका होर्डिङ बोर्ड नहटाउँदा सो क्षेत्र कुरुप देखिएको छ ।
कालिञ्चोकको कुरी बजारदेखि केवुलकार स्टेशन हुँदै मन्दिर रहेको थुम्कि नजिकैसम्म लामो समयदेखि आफुखुसी ढंगले होर्डिङ बोर्डहरु राखिएका छन् ।
जसका कारण प्राकृतिक सौन्दर्यताले भरिपुर्ण कालिञ्चोक मन्दिर कुरुप देखिएको छ । सो क्षेत्रमा जथाभावि जग्गा अतिक्रमण गरी घर टहरा समेत धमाधम निर्माण गरिएपछि कालिञ्चोकको सौन्दर्यता नै विग्रदै गएका बेला गाउँपालिकाले अध्ययनका लागि समिति गठन गरेको थियो ।