
जिरी (दोलखा) । दोलखाको मेलुङ गाउँपालिकाको पक्की प्रशासनिक भवन भेड्पुको पोखरीमा बन्ने भएको छ ।
स्थानीय सरकार बनेदेखि भाडाको घरबाट जनतालाई सेवा दिँदै आएको मेलुङ गाउँपालिकाले अब आफ्नै स्थायी प्रशासनिक भवन निर्माण गर्नका लागि केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन गरेको हो । मुडे–मेलुङ सडक अन्तर्गत पर्ने पोखरी क्षेत्रमा पालिकाको स्थायी केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन भएसँगै केही समय अघि मात्रै गाउँसभाबाट पारित गरेर बागमती प्रदेश सरकारलाई जानकारी गराएको पालिका अध्यक्ष हिरा कुमार थोकरले जानकारी दिनुभयो । मेलुङ गाउँपालिका निर्माणका लागि करिब ४० रोपनी जग्गा प्राप्ति भएको छ । पोखरीका स्थानीय भिम बहादुर थोकरले जग्गा दान गरेका छन् । यो सँगै अब यही वर्ष पालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि डिपिआर हुने पालिकाले जनाएको छ ।
पालिकाले यो वर्ष डिपिआर लगायतका काम अघि बढाउन एक करोड बजेट विनियोजन गरेको अध्यक्ष थोकरले बताउनुभयो । पालिका अध्यक्ष थोकरका अनुसार अबको डेढ देखि दुई वर्षको अन्तरालमा निर्माण सम्पन्न गर्नेगरी पक्की भवन निर्माणको प्रकृया थालेको हो । वहुवर्षीय योजना अन्तर्गत निर्माण हुने प्रशासनिक भवनको लागत करिब ८ करोड लाग्ने अनुमान गरिएको छ । यसअघि केन्द्र विवाद लगायतका कारण देखाउँदै जनप्रतिनिधि पाँच वर्षे एक कार्यकाल सकाएर भाडाको घरबाटै विदाई भएका थिए ।
२०७४ सालमा नेकपा एमालेबाट पालिकाको अध्यक्षमा निर्वाचित नरबहादुर श्रेष्ठ, उपाध्यक्ष कल्पना भण्डारी लगायतका जनप्रतिनिधि पालिकाको आफ्नै पक्की संरचना नबनाई पाँच वर्षे एक कार्यकाल सकाएर भाडाको घरबाटै विदाई भएका थिए । तर, स्थानीय सरकार बनेको छैटौं वर्ष अर्थात स्थानीय तहमा दोस्रो पटक नयाँ जनप्रतिनिधि आएपछि भवन निर्माण प्रकृया थालिएको हो । मेलुङ गाउँपालिकाले पछिल्लो ५ वर्षदेखि हालसम्म मुडे–मेलुङ सडक अन्तर्गत पर्ने जोरधारा क्षेत्रमा भाडाको घर लिएर सेवा दिँदै आइरहेको छ ।
स्थानीय सरकार बनेदेखि भाडाको घरबाट जनतालाई सेवा दिँदै आएको मेलुङ गाउँपालिकाले अब आफ्नै स्थायी प्रशासनिक भवन निर्माण गर्नका लागि केन्द्र निर्धारण गरी जग्गा व्यवस्थापन गरेको हो । मेलुङ गाउँपालिका निर्माणका लागि करिब ४० रोपनी जग्गा प्राप्ति भएको छ । पोखरीका स्थानीय भिम बहादुर थोकरले जग्गा दान गरेका छन् । यो सँगै अब यही वर्ष पालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि डिपिआर हुने पालिका अध्यक्ष हिरा कुमार थोकरले जानकारी दिनुभयो ।
यसअघि मेलुङ ४ मै पर्ने पैयाँको टुनिबोटमा स्थायी केन्द्र बनाउने प्रस्ताव भएपनि अहिले त्यसको करिब १ किलोमिटरको दुरीमा भवन निर्माण गर्न लागिएको छ । पहिला साविकको शैलुङगेश्वर गाविस समेतलाई समेटेर टुनिबोटको लागि प्रस्ताव गरिएपनि पछि पवटी, ध्याङसुकाठोकर, भेड्पु, डाँडाखर्क र मेलुङलाई मात्रै मेलुङ गाउँपालिकामा समेटिएपछि साविकको भेड्पुको गाविस भवन क्षेत्रलाई केन्द्र प्रस्ताव भएको थियोे । अहिले सोही क्षेत्रको नजिकै जग्गा प्राप्तिपछि पालिकाको स्थायी भवन निर्माण गर्न लागेको बुझिएको छ ।
स्थायी केन्द्र तोक्ने क्रममा राज्यले तोकेको स्थानबाट अन्यत्रै प्रशासनिक भवन निर्माण हुन लागेको भन्दै केही स्थानीयले भने विरोध पनि गरेका छन् ।
मेलुङ गाउँपालिकाको पक्की भवन निर्माणका लागि प्रदेश र संघीय सरकारलाई समेत पहल गर्ने र बजेट नआएको खण्डमा पालिकाको आफ्नै लगानीमा निर्माण गर्ने लक्ष्य राखेको गाउँपालिकाले जनाएको छ । जग्गा प्राप्तीपछि तत्कालै डिपिआर तयार गरी ठेक्का प्रकृया सुरु गर्ने पालिकाको योजना छ । पछिल्लो ५ वर्षदेखि मेलुङ गाउँपालिकाले मासिक ४० हजारका दरले वार्षिक ४ लाख ८० हजार भाडा तिरेर पालिका सञ्चालन गर्दै आएको छ । यसअघि हिरा थोकर वडाध्यक्ष रहेका वडा नम्बर ३ को भवन पनि बन्न सकेको थिएन । तर, अहिले वडा नम्बर ३ को कार्यालय निर्माणको लागि जग्गा छनौट प्रकृया अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । वडा नम्बर ३ को कार्यालय बाटुलेमा निर्माण हुनेछ ।
यसैबीच, मेलुङ गाउँपालिकाको ६ वटा वडाको पक्की भवन बनिसकेको छ । मेलुङ गाउँपालिकामा वडा नम्बर ३ बाहेक अन्य ६ वटा वडाको भवन निर्माण कार्य सकिएको हो । सबै वडा कार्यालय भवन पालिकाको ३०/३० लाखको लागतमा निर्माण भएको पालिकाअध्यक्ष थोकरले जानकारी दिनुभयो ।
प्रत्येक वडामा ५ देखि ६ कोठासम्मको एक तले पक्की भवन निर्माण भएको इन्जिनियर राजकुमार श्रेष्ठले बताउनुभयो । वडा नम्बर १, ६ र ७ मा भने यो वर्ष एक/एक तला थप गर्ने योजना अनुसार प्रति वडा २५ लाखका दरले रकम थप गरेको पालिकाले जनाएको छ ।