
काठमाडौं । देशभरका ६ सय ११ वटा पालिकाले अझै जग्गा वर्गिकरण गरेका छैनन् ।
म्याद सकिएको तीन महिना नाघिसक्दा पनि ६ सय ११ स्थानीय तहले जग्गाको वर्गिकरण टुंग्याउन नसकेका हुन् । देशभरका ७ सय ५३ वटै पालिकाले गत मंसिर २३ गतेसम्म आफ्नो क्षेत्रको जग्गालाई कम्तीमा कृृषि र गैरकृषि क्षेत्रमा बर्गिकरण गरिसक्नुपर्ने थियो । तर अहिलेसम्म एक सय ४२ वटा पालिकाले मात्रै जग्गा वर्गिकरण टुंग्याएको जानकारी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पठाएका छन् । सरकारले भूउपयोग नियमावली २०७९ जारी गरेको ९ महिना भइसक्दा पनि करिव ८१ प्रतिशत अर्थात् ८१ प्रतिशत पालिकाले जग्गा वर्गिकरणमा अलमल गरिरहेको विभागको विवरणले देखाएको छ । जग्गा वर्गिकरण नटुंगिँदा देशभर कित्ताकाट पनि ठप्प छ ।
भूउपयोग नियमावलीमा भूमिलाई कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, सार्वजनिक उपयोगको क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र, नेपाल सरकारबाट आवश्यकताअनुसार तोकिएका वा अन्य क्षेत्र भनी १० प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।